कांग्रेस नेता खतिवडाद्वारा निजी खर्चमा ओखलढुंगामा स्वास्थ्य सामग्री वितरण

ओखलढुंगा । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्नो गृहजिल्ला ओखलढुंगामा स्वास्थ्य सामग्रीहरू निःशुल्क वितरण गरेका छन् ।

खतिवडाले ओखलढुंगामा रहेका सबै नगरपालिका र गाउँपालिकाहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

खतिवडाले कोरोना भाइरसको संभावित संक्रमणको उपाचार गर्नका लागि सहयोग होस् भनेर स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र केन्द्रहरूलाई गाउँपालिका र नगरपालिकामार्फत स्वास्थ्य सामग्री वितरण गरेको खतिवडाका सहयोगी हुकुम राईले जानकारी दिए ।

‘कांग्रेस नेता रामहरि खतिवडाले आफ्नै निजी खर्चमा स्वास्थ्य सामग्रीहरू वितरण गर्नुभएको छ’, सहयोगी राईले भने, ‘नगरपालिका र गाउँपालिकाहरूमार्फत एकद्वार नीतिमार्फत स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ ।’

खतिवडाले आफ्नो जिल्लाका स्थानीय तहमा दश हजार मास्क, तीन हजार पञ्जा, २५ थान पीपीई, सेनिटाइजर लगायतका राहत सामग्री वितरण गरेको सहयोगी राईले बताए । वितरण गरेर बाँकी रहेको सामग्रीहरू खतिवडाले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । उनले सुरक्षाकर्मीहरूलाई पनि मास्क उपलब्ध गराएका छन् ।

खतिवडाले तीन दिन लगाएर स्वास्थ्य सामग्रीहरू नगरपालिका र गाउँपालिकाका प्रमुखहरूलाई भेटेर हस्तान्तरण गरेका छन् । ओखलढुंगामा सात वटा गाउँपालिका र एउटा नगरपालिका रहेको छ ।

नेपाली कांग्रेसका नेता खतिवडाले सात वटा गाउँपालिका र एउटा नगरपालिकालाई एक हजारका दरले मास्क वितरण गरेका छन् ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन गरे पनि आवश्यक सामग्री नदिएको भन्दै खतिवडाले आपत्ति जनाए ।

‘यस्तो अवस्थामा आफ्ना जिल्लाबासीलाई मैले पनि व्यक्तिगत रुपमा सक्ने सहयोग गर्नुपर्छ’, खतिवडाले भने, ‘सरकारले मुखले भने जस्तो कुनै पनि काम कोरोना भाइरसको संक्रमण रोक्नका लागि कार्यहरू गर्न सकेको छैन ।’ उनले सरकारलाई जिम्मेवार भएर सहयोगहरू गर्न आग्रह गरे ।

खतिवडाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आफै सचेत हुनुपर्ने भन्दै सरसफाइमा ध्यान दिनुपर्ने बताए । उनले आफ्नो गाउँ टोलमा आउने नयाँ व्यक्तिलाई दुई हप्ता अलगै राख्न सुझाव दिएका छन् ।

स्वस्थ्य सामग्री हास्तातरण कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारले कोरोना भाइरसविरुद्ध आफै सचेत हुनुपर्ने बताए । उनले सबै मिलेर यो रोगलाई गाउँ टोलमा छिर्न नदिएर हटाउनुपर्ने बताए ।

Published : Wednesday, 2020 April 8, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया