कोरोना भाइरसविरुद्धको अभियानमा सबैको साथ चाहिएको छः मेयर सुवेदी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले कोरोना भाईरसको संक्रमणविरुद्धको अभियानमा जुट्न नगरवासीलाई अपील गरेका छन् ।

पारिवारिक उपचारको शिलशिलामा भारतको नयाँदिल्लीमा रहेका मेयर सुवेदीले सोमबार फेसबुकमार्फत नगरवासीलाई संयम भई कोरोनाविरुद्ध लड्न आग्रह गरेका हुन् ।

उनले संकटका बेला आफू नगरवासीमाझ उपस्थित हुन नसके पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायसँग समन्वयमा रहेको बताएका छन् ।

सबै क्षेत्रबाट कोरोनाविरुद्धको अभियनमा सहयोग मिल्ने अपेक्षा आफूले गरेको मेयर सुवेदीले बताएका छन् ।

‘कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरवासीलाई जोगाउन वीरेन्द्रनगर नगरपालिकाले कुनै कसर बाँकी नराखी सबै पक्षसँग समन्वय गर्दै आफ्ना विभिन्न निर्णय तथा गतिविधिहरू सञ्चालन गरिरहेको कुरा सबैलाई अवगत नै छ’, मेयर सुवेदीले भनेका छन् ।

‘यस सम्वेदनशील घडीमा नगरवासीले पुनः एकपटक संयमताका साथ कोरोनाविरुद्धको अभियानमा एकजुट भई लाग्न अनुरोध गर्दछु’, उनले भनेका छन् ।

‘संकटको घडीमा नगरवासीसँग प्रत्यक्ष रुपमा सहभागी हुन नसके पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवम् सुरक्षा निकायसँग सम्पर्क, समन्वयमा रहेको ब्यहोरा जानकारी गराउँदै सबै क्षेत्रबाट कोरोनाविरुद्धको अभियानमा सहयोगको अपेक्षा गर्दछु’, उनले भने ।

‘यस संक्रमणलाइ रोक्नका लागि सामाजिक दुरी कायम गरी सरसफाईसहित घरमा बस्नु नै उत्तम विकल्प हो’, मेयर सुवेदीले भने ।

‘सरकारद्वारा लागू गरिएको लकडाउनलाई सबैले पालना गरौं’, उनले भने, ‘यो अभियानलाई साथ एवम् सहयोग दिनुहुने आम नगरवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाइ हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

‘संकटको यस घडीमा अहोरात्र खटिईरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी एवम् निजी तथा सामुदायिक क्षेत्रको सहयोग र सहकार्यप्रति उच्च सम्मान प्रकट गर्दै यस विषम् परिस्थितिमा आफू नगरवासीसँग प्रत्यक्ष सहभागी हुन नसके पनि मानसिक रुपमा एवम् प्रविधिको हिसाबले सँगै रहेको व्यहोरा जानकारी गराउन चाहन्छु’, उनले भनेका छन् ।

‘हाल विशेष परिस्थितिका कारण पारिवारिक उपचारका लागि दिल्लीमा रहेको जानकारी गराउन पनि चाहन्छु’, मेयर सुवेदीले भने, ‘अन्त्यमा यस महामारीविरुद्धको अभियानमा सबै पक्षको एकतावद्ध प्रयास एवम् सहयोगको अपेक्षा गर्दछु ।’

Published : Tuesday, 2020 April 7, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया