थापाले पठाए धनकुटामा हेलिकप्टरबाट स्वास्थ्य सामग्रीहरू

काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापाले आफ्नो गृहजिल्ला धनकुटामा कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू पठाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता समेत रहेका थापाले मंगलबार एयर डाइनेस्टीको हेलिकप्टरमार्फत स्वास्थ्य सामग्रीहरू पठाएका हुन् । थापाले ती सामग्रीहरू सहयाेगीहरूका साथ हेलिकप्टरमा आफै राखेका थिए ।

स्वास्थ्यकर्मीलाई आवस्यक पर्ने पीपीइ किट–७४ सेट, एम्बुलेन्स चालक तथा सहयोगी किट – २२ सेट, पञ्जा–२२ बाकस, स्यानिटाइजर – ३० बोतल, डेटोल हेण्डवास–७२ बोतल, डेटोल साबुन – ७२ थान, मास्क – २००० थान लगायतका सामग्रीहरू धनकुटा जिल्लामा पठाइएको पूर्वमन्त्री थापाले बताए ।

यी सामग्रीहरू धनकटा जिल्लाको ३ वटा नगरपालिका, ४ गाउँपालिकाका एक लाखभन्दा बढी जनतालाई स्वास्थ्य सेवा पुर्‍याइरहेका अस्पतालहरू, आइसोलेसन एण्ड क्वारेन्टाइन सेन्टर, प्राथमिक स्वास्थ्य केन्द्रहरू, उपस्वास्थ्य चौकीहरूमा वितरण हुने थापाले बताए ।

हेलिकप्टरले सल्लेरी ब्यारेक, धनकुटामा ती सामग्रीहरू झार्नेछ । त्यसपछि ती सामग्रीहरू गाडीमार्फत सम्बन्धित क्षेत्रमा पठाइनेछ ।

धनकुटा जिल्ला विपत् व्यवस्थापन समिति तथा धनकुटा उद्योग वाणिज्य महासंघमार्फत सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्री पुर्‍याइने प्रवन्ध मिलाइएको नेता थापाले बताए ।

नेपाली सेनाको सल्लेरी ब्यारेकको पनि २ बोरा (१२५ केजी) पीपीइ किट सूर्यबहादुर थापा प्रतिष्ठानमार्फत हेलिकप्टरबाट पठाउन पाउँदा खुशी लागेको थापाले जनाएका छन् ।

नेता थापाले स्वास्थ्य सामग्री वितरणको कार्यका लागि सहयोग गरेको भन्दै धनकुटा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य संघ, धनकुटा लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन् ।

Published : Tuesday, 2020 April 7, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया