सरकारले दियो निजी अस्पतालका चिकित्सकलाई कोरोनाविरुद्ध काम गर्ने अवसर

काठमाडौं । कोरोना भाइरसको संक्रमणको उपचार गर्न निजी अस्पतालमा काम गर्ने चिकित्सकहरूले सरकारी अस्पतालमा काम गर्न चाहेमा त्यो अवसर प्रदान गर्ने भएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले काम गर्न चाहने त्यस्ता चिकित्सकहरूलाई तह अनुसार मिलाएर काम गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सरकारी अस्पतालमा काम गर्न आउने निजी क्षेत्रका चिकित्सकले तलब पनि तहअनुसार सरकारी चिकित्सकै अनुसार रहने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको उपचार तथा रोकथामका लागि निजी अस्पतालमा काम गर्न चाहे पनि चिकित्सकले पाउने भत्ता सरकारले नै व्यहोर्ने जनाएको छ ।

सरकारले कोरोना पहिचानमा खटिने स्वयंसेविकालाई पनि एक पटक खटिएको बापत १५ सय प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

आइतबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशमा रहेका ५० हजार स्वयंसेविकालाई परिचालन गर्ने जनाएको थियो ।

सरकारले क्वारेन्टिनको मापदण्डलाई पनि केही परिवर्तन गरेको छ । अब क्वारेन्टिमा रहेका हरेकको १४ दिन बसेपछि र्‍यापिड डाइगनोस्टिक टेस्ट गरेपछि मात्र घर पठाइने छ ।

उनीहरूले त्यहाँ पनि अनिवार्य एक साता होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

Published : Monday, 2020 April 6, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया