अध्यक्ष राईद्वारा मानेभञ्ज्याङका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्री प्रदान

ओखलढुंगा । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले स्वस्थ्यकर्मीहरूलाई कोरोना भाइरसको संक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष मोतीराज राईले पीपीई सेट, ग्लोब्स, मास्क, हेन्ड सेनिटाइजर, फिनेल र डिटोल सबुनहरू उपलब्ध गराएका हुन् ।

स्वास्थ्यकर्मीहरूलाई अध्यक्ष राईले स्याब्लोन झोल लगायत थुप्रै आवश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरेका छन् ।

स्वास्थ्य सामग्री प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष राइले गाउँपालिकाले गर्नुपर्ने कुनै पनि कुराहरूमा कमी आउन नदिने प्रतिबद्धता जनाए ।

सबै स्वास्थ्यकर्मीहरूको मनोबल बढाउँदै अध्यक्ष राईले भने, ‘कोरोना भाइरसका विरुद्धको अभियानमा चिकित्सकहरूलाई कुनै पनि सामग्रीको अभाव हुन दिनेछैन । तपाईहरू उच्च मनोबलसहित जनताको स्वास्थ्य उपचारमा लाग्नुस् ।’

अध्यक्ष राईले उपचारका क्रममा आवश्यक पर्ने स्वास्थ्यकर्मीको सम्पूर्ण स्वास्थ्य सामग्री आइसकेको बताए ।

आईआर थर्मोमिटरसहितका सामग्री आउन बाँकी रहेको भन्दै अध्यक्ष राईले ती सामग्री पनि आउने क्रममा रहेको बताए । स्वास्थ्यसम्बन्धी उपकरणहरू सबै स्वास्थ्यकर्मीलाई उपलब्ध गराइने उनले बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका गाउँपालिकाका अध्यक्ष राईले स्वास्थ्यकर्मीहरूको आत्माबल बढाउन प्रत्येक स्वास्थ्यकर्मीलाई एक महिना बराबरको तलब साथै हेल्थ डेक्स र क्वारेन्टाइनमा बस्ने कर्मचारीलाई प्रत्येक दिनको रु.५०० भत्ता दिने ब्यवस्था गरेको जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष सविता राइले कोरोना भाइरसको संक्रमणका बेला स्वास्थ्यकर्मीहरू आफू जोगिएर उच्चतम सेवा प्रदान गर्न अनुरोध गरिन् ।

‘म यो गाउँपालिकाको उपप्रमुखको हैसियतले दावीको साथ भन्छु मबाट हुने सक्ने केही कुरा बाँकी राख्नेछैन’, उनले भनिन्, ‘गाउँका जनताको स्वास्थ्य र स्वास्थ्यकर्मीहरूको आवश्यक्तापूर्ति गर्नेछु ।’

मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य प्रमुख विश्वाराज दाहालले कोरोना भाइरसको संक्रमण सबैभन्दा उच्च जोखिममा स्वास्थ्यकर्मीहरू रहेको बताए ।

उनले स्वास्थ्यका क्षेत्रमा गाउँपालिकाले दिएको जिम्मेवारीलाई आफूहरूले ईमानदारितापूर्व पालना गर्ने बताए ।

Published : Monday, 2020 April 6, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया