नेपालीहरूको आत्मवल बलियो छ, कोरोनालाई हराइ छाड्छौँः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेर सह्रानीय काम गरिरहेका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचारको गन्ध आएको भन्दै चिन्ता जनाएका छन् ।

पूर्वसांसद समेत रहेका कांग्रेस नेता थकालीले आइतबार प्रेस नोट जारी गर्दै कोरोनाविरुद्धका सामग्री खरिदमा भएको अनियमितता कुनै पनि हालतमा सैह्य विषय नरहेको बताएका हुन् ।

‘कोरोना भाईरसको संक्रमणविरूद्धको लडाइँ लड्नकै लागि आवश्यक तयारी भइरहेका बेला भ्रष्टाचारजन्य समाचारहरू आउनु किमार्थ सहनयोग्य कुराहरू होइन’, उनले भनेका छन्, ‘यदि समाचारहरूमा सत्यता छ भने यी कार्यहरू आर्थिक भ्रष्टाचार मात्र नभई मानवताविरूद्धको भ्रष्टाचार पनि हो ।’

‘यसको छानविन हुनै पर्दछ’, कांग्रेस नेता थकालीले भनेका छन्, ‘सरकार जवाफ देहिपूर्ण र कर्तव्यनिष्ठ ढंगले यो युद्धको मोर्चामा सर्वसम्मत, राष्ट्रिय सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्छ ।’

कांग्रेस नेता थाकालीले कोरोना भाइरसको संक्रमणविरुद्ध सबै नेपालीहरू मिलेर संकटको सामना गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसका कारण मानवजातिको अस्तित्वमाथि संकट आएको भन्दै उनले सबै मानवजाति एक हुनुपर्ने अवस्था आएको बताए ।

‘कोरोना भाइरसको संक्रमणको कु–प्रभाव हाम्रो देशमा पनि देखिन थालेको छ’, थकालीले भनेका छन्, ‘हाम्रो देश विज्ञान र प्रविधि विकासको दृष्टिकोणले अन्य देशको तुलनामा पछाडि रहे पनि शाहस र आत्मवलको हिसावले हामी नेपाली धेरै अगाडि छौँ ।’

‘सरकार कसको छ ? यसको नेतृत्व कसले गरेको छ ? भनेर अलमलिनु भन्दा पनि हामी सबै नेपाली एकजुट भै कोरोना भाईरसको संक्रमणविरूद्ध लड्नुपर्छ ।’

Published : Sunday, 2020 April 5, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया