कोरोना रोकथामका लागि बागमतीमा २५ लाखको कोष, कांग्रेसका तिमिल्सिनाले दिए एक लाख

ललितपुर । ललितपुर जिल्लाको बागमती गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि २४ लाख ५० हजारको कोष स्थापना गरेको छ ।
गाउँपालिकाले विपत् व्यवस्थापन कोषअन्तर्गत कोरोना भाइरसको नियन्त्रणका लागि कोष खडा गरेको हो । नेपाली कांग्रेसले जितेको यो वडामा कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि गाउँपालिकाले कोष बनाएको छ ।

कोषमा गाउँपालिकाको फर्निचर तथा फिक्चर्स शीर्षकबाट ५ लाख, मेशिनरी औजार शीर्षकबाट ३ लाख ५० हजार, नारी दिवस कार्यक्रमबाट ३ लाख रकम जम्मा गर्ने निर्णय गरेको छ ।

वडा नम्बर ५ को कार्यक्रमबाट १ लाख, वडा नम्बर ३ को कार्यक्रमबाट १ लाख वडा नम्बर ७ को कार्यक्रमबाट पचास हजार र वडा नम्बर ६ को कार्यक्रमबाट पचास हजार रुपियाँ कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले एक महिनाको तलब रकम कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

बागमती गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले व्यक्तिगत १ लाख कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

कोषमा प्रदेश सरकारबाट प्राप्त रु १० लाख समेत जम्मा गरी २५ लाख बराबरको कोष खडा गरिएको बागमती गाउँपालिका सञ्चार संयोजक दीपक घिमिरेले जानकारी दिए ।

गाउँपालिकाले महामारी रोकथाम र नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउँपालिकाले कोरोना रोकथाम कोषमा आर्थिक सहयोग गर्न उद्योगी व्यवसायी, इच्छुक व्यक्ति संघसंस्थाहरूलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यसअघि प्रत्येक वडाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री वितरण गर्ने, क्वारेन्टाइनका लागि बेडको स्थापना गर्ने जस्ता कार्य गर्दै आइरहेको छ ।

गाउँपालिकाले सरकारले रोगको रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउनमा अत्यावश्यक आवतजावत गर्नुपर्ने स्थानीयका लागि बसको व्यवस्था गरेको थियो ।

ललितपुर जिल्ला बागमती गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष विष्णु तिमिल्सिनाले बागमती गाउँपालिका बिपत् ब्यवस्थापन समितिलाई आफ्नो निजी रु. १ लाख एक हजार एक रुपियाँ गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनलाई चेक हस्तान्तरण गरेका छन् ।

तिमिल्सिना सामाजिक कार्यमा निकै सक्रिय छन् । स्थानीय निर्वाचनमा वडाध्या लोप्चनले अत्याधिक मतबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तिमिल्सिनाले बागमती गाउँपालिका का दुःखी गरिब जनताहरूलाई सधै सहयोग गर्दै आइरहेको बागमती गाउँपालिका प्रेस सल्लाहकार दीपक घिमिरेले जानकारी दिए ।

तिमिल्सिना नेपाली कांग्रेस बागमती गाउँपालिका अध्यक्ष समेत हुन् । उनी नेपाली कांग्रेस युवा नेता मीन कृष्ण महर्जन निकट मानिन्छन् ।

Published : Saturday, 2020 April 4, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया