नेकपाबाट झुठको खेती भएपछि प्रतिवाद गर्न एक भए दुधौलीका कांग्रेस

सिन्धुली । सिन्धुली जिल्ला नेपाली कांग्रेसको दुधौली नगर कार्यसमितिले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको चरित्रमा दाग लगाउन नगर प्रमुख घनश्याम राउत र उनको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसका दुधौली नगर समितिका सभापति कुमार बस्नेतले शनिबार विज्ञप्ति जारी गरेर कांग्रेसविरुद्ध कुनै पनि गतिविधि नगर्न नेकपालाई सचेत गराएका छन् । उनले कांग्रेसले जितेको दुधौली नगरपालिकाको वडा नम्बर १ मा मास्क वितरणमा नेकपा र मेयरबाट भएको हर्कतको विरोध गरेका छन् ।

सभापति बस्नेतले वडा सचिवमार्फत मास्क बुझेर वितरण गरिएको विषयलाई नेकपा र नगर प्रमुखले कांग्रेस र वडाध्यक्षको चरित्रमा दाग लाग्ने गरेर प्रचार गरेको भन्दै आपत्ति जनाए । उनले नेकपा र मेयरको झुठको प्रचारवाजीको पछाडि नलाग्न नगरबासी सबैमा अपील गरेका छन् ।

‘कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरू आफूले सेवा सुविधा नलिएर जनतालाई सेवा र सुविधा दिन दिनरात संघर्ष गरिरहेको अवस्थामा जननिर्वाचित वडाध्यक्षको राजनीतिक चरित्रमा दाग लगाउने उदेश्यले गतिविधि भएको छ,’, विज्ञप्तिमा बस्नेतले भनेका छन् ।

‘कोरोना भाइरसको संक्रमणबाट जनता बचाउन मुलुक नै अभियानमा लागिरिरहेको परिपेक्ष दुधौली नगरपालिकाबाट एकद्वार प्रणालीमार्फत सबै वडा कार्यालयहरूबाट राहत वितरण गर्ने भन्ने निर्णय विपरित नगर प्रमुखबाट मास्क वितरण कार्यमा वडा कार्यालयलाई उपेक्षित गरिएकोले नेपाली कांग्रेस १४ वटै वडा कार्यसमितिको तर्फबाट नेपाली कांग्रेस नगर कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रामक कपोल्कल्पित समाचारको पछाडि नलाग्न अपील गर्दछौँ ।’

Published : Saturday, 2020 April 4, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया