देउखुरीमा कांग्रेसका केन्द्रीय सदस्यसहितका नेताहरूद्वारा आगलागी पीडितलाई सहायता प्रदान

लमही । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य योगेन्द्र चौधरले आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेका छन् ।

दाङको देउखुरीस्थित गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरका आगलागीका पीडितलाई प्रतिनिधि सभाका पूर्वसांसद समेत रहेका केन्द्रीय सदस्य चौधरीले छ घरलाई सहायता स्वरुप खाद्यान्न प्रदान गरेका हुन् ।

सहायता हस्तान्तरणमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेसहितका नेताहरूको सहभागिता रहेको थियो ।

कोरोनाको संकटबाट बच्न लकडाउन भएका बेला आगलागीमा परेका छ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको केन्द्रीय सदस्य चौधरीले बताए ।

‘पीडितको पीडामा मलम लगाउने दायित्व स्वरूप सानो प्रयत्न हामीले गरेका हौँ’, उनले भने, ‘विपदको बेला सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ ।’

बिहीबार बिद्युतको तार सर्ट भइ आगलागी हुँदा कृष्णबहादुर सुनारको १–१ वटा घरगोठ, भक्तबहादुर सुनारको १ घर र १ भान्सा जलेको थियो ।

विनोद सुनारको १ घर र १ गोठ जलेको थियो । ऋषि राना र विष्णु रानाको घर पनि जलेको थियो । आगलागीमा ७० हजार नगद पनि जलेका पीडितहरूले बताएका छन् ।

आगलागी पीडित परिवारलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल र साबुन सहयोग गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिए ।

आगलागी पीडितलाई राहत सामग्री बितरण गर्न नेपाली कांग्रेसका दिवानजंग चौधरी, कर्णबहादुर बुढाथोकी, जानकीलाल बस्नेत, अनुप थापा, गढवा गाउँपालिकाका नेपाली कांग्रेसका अध्यक्ष बालचन्द्र हमाल, गोविन्द ओलीलगायतका नेताहरू पुगेका थिए ।

Published : Saturday, 2020 April 4, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया