गाेकुल बास्कोटाको जस्तै भानुभक्तको मन्त्री पद जाला ?

काठमाडौं । करोडौँ रुपियाँ भ्रष्टाचार भएको भनेर आलोचना भइरहेका बेला स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय भएको जनाकारी दिए ।

विभागले ओम्नी समूहसँग चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो । सामग्री बजार मूल्यभन्दा निकै महंगोमा खरिद गरेको भन्दै सरकारको आलोचना भएको थियो ।

यो समूहले केही सामान आइतबार बिहान ल्याएको थियो । महानिर्देशक श्रेष्ठले ओम्नी समूहले सम्झौताअनुसारको स्वास्थ्य सामग्री ल्याउन नसकेपछि सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी दिए ।

ओम्नीले पहिलो चरणमा ल्याउनु पर्ने सामग्रीमध्ये जम्मा १० प्रतिशतमात्र ल्याएको छ । उनले बाँकी सामान पनि भोलि ल्याइसक्नुपर्ने भन्दै अब त्यो सम्भावना नरहेको बताएका छन् ।
ओम्नी समूहलाई कालो सूचीमा राख्न सरकारले पहल गर्ने महानिर्देशक श्रेष्ठले बताएका छन् ।

विभागले उक्त समूहले धरौटी राखेको ६ करोड रुपियाँ पनि जफत गरिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सरकारले अब स्वास्थ्य सामग्री ल्याउन नयाँ सम्झौताको प्रक्रिया सुरू गर्नेछ ।

‘पूरानो टेन्डर हालेकाहरूलाई भोलि बोलाउँछौं’, उनले भने, ‘कति उनीहरूले दिन सक्छ भनेर सोध्छौं र फेरि अर्को सम्झौता गर्छौं ।’ विभागले ओम्नीसँग एक अर्ब ३४ करोड रुपियाँको ठेक्का गरेको थियो । उसले २१ करोडको सामान ल्याएको छ ।

यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपियाँ कमिशनको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

कोरोनाविरुद्धका सामग्री खरिद काण्डमा अनियमितता र भ्रष्टाचारका तथ्यहरू बाहिर आएका छन् । स्वास्थ्य विभागले सम्झौता नै रद्ध गरेर ओम्नी समूहसँग गरिएको सम्झौता गतल थियो भन्ने पुष्टि गरेको छ । यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पदमा रहन्छन् वा राजीनामा गर्छन् चासोको विषय बनेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री ढकाललाई हटाउन दवाव परिरहेको छ । तर, ढकाल ओलीका अत्यन्तै निकटका व्यक्ति हुन् । नेकपाकै धेरै नेताहरूले ढकाललाई हटाउन दवाव दिइरहेका छन् । उनीहरू ओलीको डरका कारण बोल्न सकिरहेका छैनन् ।

Published : Wednesday, 2020 April 1, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया