चिनियाँहरूको लमजुङमा दादागिरी

काठमाडौं । कोरोना भाईरस चीनको वुहानमै उत्पति भई संसारभर फैलिएको तथ्य अब निर्विवादित छ । २०१९ को नोभेम्वर महिनातिरै कोरोना भाईरसबारे पत्ता लागिसकेको थियो ।

यद्यपि, चिनियाँहरूको विदेश आवागमन करीव करीव मार्चको पहिलो हप्तासम्म जारी नै रह्यो । उनीहरू नेपाल आउने क्रम पनि जारी नै रह्यो ।

कोरोनाको प्रसार शुरु भएर चीनमा हजारौं मानिसहरू संक्रमित भइसकेपछि पनि चिनियाँ नागरिक निर्बाध रुपले नेपाल आउने जाने क्रम जारी राखे ।

कोरोना फैलिएपछि पनि नेपालको विभिन्न परियोजनाहरूमा कार्यरत चिनियाँ नागरिकहरू नयाँ वर्ष मनाउन चीन गए र कोरोना प्रसार उच्चत्तम विन्दुमा पुगेको बेलासमेत नेपाल फर्केर आए ।

पोखरा विमानस्थलको निर्माणमा खटिएका कर्मचारीहरू यसको सबसे ठूलो उदाहरण हुन् । उनीहरू नयाँ वर्ष मनाउन चीन गएर पुनः फर्केका थिए । चिनियाँहरू नेपाल फर्किने वितिक्कै क्वारेन्टाईनमा नबसिकनै काम शुरु गरेका थिए ।

उनीहरूमध्ये केहीलाई ज्वरो आएपछि सँगै काम गर्ने नेपाली कर्मचारीहरूले विरोध गरे । त्यसपश्चात मात्र उनीहरू काम रोकी क्वारेन्टाइनमा बसेका थिए ।

लम्जुङ जिल्लाको न्यादी जलविद्युत आयोजनालगायत थुप्रै अन्य आयोजनामा कामको नाममा कोरोना प्रसारणको दौरान नै चिनियाँहरू नेपाल आए । आयोजनाहरू वरीपरीका वासिन्दाहरूमा चिनियाँहरूको आवागमनबाट कोरोना फैलिने त्रास बढ्यो । तर पनि सरकारले यसबारे कुनै कदम चालेन । लकडाउनपछि पनि चिनियाँहरूको आवागमन नरोकिएपछि स्थानीयहरूको त्रास आक्रोशमा वदलियो ।

फलस्वरुप सोमबार लमजुङमा अप्रिय घटना हुन पुग्यो । स्थानीय वासिन्दा र चिनियाँहरूबीचको सोहाद्रता भंग भयो । उनीहरूबीच झडपको स्थिति समेत बन्यो । लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नम्बर ६ ठूलोबेसीस्थित न्यादी हाईड्रोपावरमा कार्यरत चिनियाँ नागरिकहरूले लकडाउनको बेला पनि गाउँ हुँदै निर्माण सामग्री ल्याउन खोज्दा झडपको अवस्था आयो ।

स्थानीय जनप्रतिनिधि डिलमाया थापाका अनुसार हाईड्रोपावरलाई आवश्यक सामग्री लिएर दुई ट्रक आएपछि गाउँले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चिनियाँहरू कुटपिटमा उत्रिएका थिए ।

स्थानीयले कोरोना फैलिने डरले गाउँमा अपरिचित प्रवेश नगरुन् भनेर गाउँको नाकामा तारजाली लगाएका थिए । चिनियाँहरूले तारजाली उखालेर फालेपछि तनाव भएको थियो ।

आफूहरू घरबाट निस्कन समेत नपाएको तर, चिनियाँहरूले भने सामग्री ल्याएपछि स्थानीयको आक्रोश बढेको थियो ।

लकडाउनका समयमा पनि आयोजनाको काम नरोकी चिनियाँहरूले जवर्जस्ती गर्न खोजेपछि झडप हुन पुग्यो । झडपपश्चात पनि नियन्त्रित हुनुको साटो स्थानीयहरूको प्रतिकार गर्न फिल्मी शैलीमा चिनियाहरू हतियारसहित नै आएपछि स्थिति नियन्त्रण गर्न प्रहरी नै परिचालित गर्नुपरेको थियो ।

पछिल्लो वर्ष चीनको तिब्बतको ताक्लाकोटमा एक नेपाली कमदारले तिब्बती महिलाको हत्या गरेपछि त्यहाँ कार्यरत सबै ५ सय कामदारलाई ट्रकमा हालेर एकैपटक नेपाल फिर्ता पठाइएको थियो ।

एकजना नेपालीले विदेशमा अपराध गर्दा सबै कार्यरत नेपाली नागरिकले त्यसको साजाय भोग्नु परेको थियो । यो तथ्य पनि स्थानीय जनताले विर्सन सकेका थिएनन् । त्यहीभएर होला अहिले स्थानीयहरू सबै चिनियाँप्रति नै क्रुद्ध छन् ।

चिनियाहरूले हतियारसहित नेपालीहरूमाथि आइलागेको लम्जुङको यो घटना पहिलो भने होइन् । यसअघि पनि उनीहरूले यस्तो घटना दोहो¥याइसकेका छन् ।

अपराध गर्ने, अत्याचार गर्ने र नेपालीले बोलपछि उल्टै जाइलाग्ने उनीहरूको आदत जस्तै बनेको छ ।

यसअघि गत फागुन २९ मा नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्दा ४ जना चिनियाँ नागरिकहरू पक्राउ परेका थिए ।

काठमाडौंको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई दादागरी शैलीमा खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको अभिलेखमा उल्लेख छ ।

ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरूले नेपाली होटल व्यवसायीसँग विवाद गरेका थिए । विवादले झगडाको रुप लिएपछि चिनियाँहरूले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए ।

नयाँ वर्षको छुट्टी मनाएर नेपाल पर्किएका ती चिनियाँ व्यवसायीहरूले ग्राहकको विषयलाई लिएर विवाद गरेका थिए ।

यसमा दोष जति सबै चिनियाँ नागरिकको मात्र होइन । मुखिया जे गर्छन त्यहीँ नै अरुले सिक्ने हुन् । नेपालस्थित चिनियाँ राजदूत यान्छी होउले नै प्रेस वक्तव्य जारी गरी काठमाडौं पोष्टका सम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने धम्की दिएकी थिइन् ।

यान्छी एक समाचारको विषयलाई मुद्दा बनाउँदै सम्पादकमाथि नै जाइलागेकी थिइन् । उनले नेपालमा चिनियाँ व्यवस्थामा झै प्रेस नियन्त्रण गर्ने प्रत्यत्न गरेकी हुन् ।

चिनियाँहरूले नेपालमा अत्याचार बढाउँदै लैजादा कालान्तरमा यसले उग्ररुप लिदै जाने र यसले नेपाल तथा चीनबीचको सौह्राद्रपूर्ण सम्वन्धमा नै असर पर्ने हुँदा सबै सरोकारवालाहरू समयमा नै सचेत हुन जरुरी छ ।

Published : Wednesday, 2020 April 1, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया