संकटको बेला सरकारले दायरा फराकिलो बनाउनुपर्छः दाङ कांग्रेस

घोराही । नेपाली कांग्रेस दाङले सरकारलाई संकटका बेला अलिक फराकिलो दायराबाट सोँचेर काम गर्न सुझाव दिएको छ ।

दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्काले मंगलबार विज्ञप्ति जारी गरेर कोरोना भाईरसको संक्रमणबाट मुलुक त्रसित रहेका बेला सरकारले पनि दायरा फराकिलो बनाएर काम गर्नुपर्ने बताएका हुन् ।

‘यस परिस्थितिमा सरकारपनि संकुचित नभई अलिक फराकिलो हुन जरुरी छ’, विज्ञप्तिमा भनिएको छ, ‘जोखिमलाई न्यूनीकरण गर्न जिल्लाका सम्पूर्ण तह र तप्तामा बस्नुभएका कांग्रेसका नेताहरू सबै तहका जिम्मेवार पदाधिकारी साथीहरू, निर्वाचित जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले आ–आफ्नो ठाउँबाट कोरोना भाइरस संक्रमणलाई न्यूनीकरण गर्न सचेतना फैलाउन आग्रह गर्दछु ।’

दाङ कांग्रेसले सम्भावित जोखिमको सामनाका लागि दक्ष जनशक्ति तयार राख्न आग्रह गरेको छ । ‘जरुरी उपकरणहरूदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरू तथा आइसियुसम्मको अभाव हुन नदिन सरकार थप जिम्मेवार हुनुपर्ने देखिन्छ’, सभापति खड्काले भनेका छन्, ‘सरकारले गरेको लकडाउनलाई सबैले पालना गरि आफू पनि बचौँ र अरुलाई पनि बचायौँ ।’

कांग्रेस सभापति खड्काले दैनिक ज्यालादारीमा जीवन गुजारा गर्ने जनतालाई सहायता गर्न पनि आग्रह गरेका छन् ।

‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले विशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवम् दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरूलाई अत्यन्तै कष्टकर अवस्था आएकाले सहजरुपमा राहतको व्यवस्था गर्नुपर्छ’, सभापति खड्काले बताएका छन् ।

दाङ कांग्रेसले मजदुरहरूलाई दिइने राहतमा विभेदीकरण नगरी समानरुपले वितरण र उपलव्ध गराउन माग गरेको छ ।

Published : Tuesday, 2020 March 31, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया