राप्ती गाउँपालिकाले अति विपन्नहरूलाई खाद्यान्न वितरण गर्ने

तीर्थराज ज्ञवाली

मसुरिया । दाङ जिल्लास्थित राप्ती गाउँपालिकाले अति विपन्न परिवारहरूलाई खाद्यान्न सामग्री निःशुल्क वितरण गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लगडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका अति निम्न वर्गलाई घरधुरीको संख्याका आधारमा खाद्य सामग्री वितरण गरिने गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

नेपाली कांग्रेसका नेता समेत रहेका अध्यक्ष सुवेदीले भने, ‘दैनिक मजदुरी गरेर खाने वर्ग समस्यामा परेको छ । उनीहरूको भरणपोषणको जिम्मेवारी गाउँपालिकाले लिन्छ ।’ उनले लकडाउनलाई साथ दिएर राप्ती गाउँपालिकाका जनताले सहयोग गरेको भन्दै धन्यावाद दिएका छन् ।

आयस्रोत कमजोर भएका, गरिव परिवार, दैनिक गुजारा चलाउन मजदुरी गर्नेहरूको पहिचान गरेर न्यूनतम आवश्यक्ताअनुसार निःशुल्क रुपमा राहत वितरण गरिने गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

मंगलबार गाउँपालिकाका अध्यक्ष सुवेदीको अध्यक्षतामा बसेको विपद् न्यूनीकरण तथा प्रतिरक्षा समितिको बैठकले नौ वटा वडाका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने निर्णय गरेको हो । गाउँपालिकाले सर्वसाधारणहरूलाई सरसफाईका सामाग्री पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण एक हप्तादेखि देशभरि लकडाउन जारी छ । लकडाउनका कारण धेरै सर्वसाधारणहरूले खान नपाएको गुनासाहरू आइरहेका बेला राप्ती गाउँपालिकाले आफ्ना अति विपन्न परिवारहरूलाई खाद्य सामग्री वितरण गर्ने निर्णय गरेको छ ।

Published : Tuesday, 2020 March 31, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया