कोरोना रोक्न पूर्वराजाले दिए सरकारलाई दुई करोड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारको ‘कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’लाई दुई करोड रुपियाँ दाखिला गर्ने घोणणा गरेका छन् ।

पूर्वा राजा शाहले मंगलबार विज्ञप्ति जारी गरेर हिमानी कोषमार्फत सरकारी कोषमा दुई करोड दिने बताएका हुन् ।

‘दुःख, कष्ट र आपत, बिपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौँ’, उनले भनेका छन्, ‘यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ ।’

‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउँन अनुरोध गर्दछौँ’, पूर्वराजा शाहले भनेका छन् ।

उनले देश र जनतामा कोरोना भाईरसको संक्रमणको महामारीले भय र संत्रास पैदा गराएको भन्दै मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहलप्रति सम्बेदनशील हुँदै सबैले आ–आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पु¥र्याउनु अनिवार्य भै सकेको बताएका छन् ।

‘यो अबस्थाबाट मुक्त हुन लकडाउननै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ’, पूर्वराजा शाहले भनेका छन्, ‘यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’

‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पु¥याउने सञ्चारकर्मी एवम् पत्रकारहरूप्रति हामी आभारी छौँ’, उनले भनेका छन् ।

Published : Tuesday, 2020 March 31, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया