इट्टा भट्टमा रहेका दश हजार रोल्पालीको उद्धार गरौँः कांग्रेस सभापति पुन

रोल्पा । नेपाली कांग्रेस रोल्पाले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा काम गर्ने झण्डै १० हजार रोल्पाका मजदुर समस्यामा परेको भन्दै खाद्यान्न तथा स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

सभापति अमरसिंह पुनमगरले विज्ञप्ति जारी गरेर क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्ने वातावरण मिलाउन वा उनीहरूले काम गरिरहेको ठाँउमा नै भोक टार्ने वातावरणका लागि राहत पुर्‍याउन सरकारसँग माग गरेका छन् ।

रोल्पाबाट ठूलो संख्या इट्टा भट्टामा काम गर्न गएका रोल्पालीहरू समस्यामा रहेको सभापति पुनले बताएका छन् ।

काठमाडौंका ११, भक्तपुरका ७५, ललितपुरका ३४ र धादिङका ३१ इट्टा भट्टामा साढे नौ हजार रोल्पाली मजदुर फसेको कांग्रेस सभापति पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न ज्यालादरी र मजदुरी गर्न पुगेका कास्की, रसुवा, स्याङ्जा लगायतका ठाँउमा समेत लकडाउनमा रोल्पालीहरू फसेको उनले जनाएका छन् ।

‘विभिन्न जिल्लामा हजारौंको संख्यामा रोल्पालीहरू रहेको तत्थ्याङ्क प्राप्त भएकाले उनीहरू कि क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्न वातावरण तयार गर्न वा उनीहरूले काम गरिरहेको स्थानम नै भोक टार्ने वातावरणका लागि राहत पुर्‍याइदिन सरकासँग अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

सभापति पुनले छिमेकी मुलुक भारत र अन्य तेस्रो मुलुकबाट गाँउमा मानिसहरू आएको भन्दै स्वास्थ्य जाँच प्रभावकारी बनाउन माग गरेका छन् ।

Published : Tuesday, 2020 March 31, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया