कोरोना संक्रमण भेटिदा पनि नडराएको हिम्मतिलो देश

बीबीसी

लण्डन । युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रमा छ । सोही महादेशको एउटा राष्ट्रमा भने अधिकारीहरूले दैनिक जीवनमा फेरबदल ल्याउने कुनै कडा कदमहरू चालेका छैनन् ।

थुप्रै पक्षमा मौलिक रहेको एउटा देश बेलारुसले बाँकी युरोप र आफ्नै छिमेकी रूस र युक्रेनभन्दा फरक बाटो समातिरहेको छ ।

युक्रेनमा आपत्कालीन अवस्था लगाउन खोजिँदैछ । रूसले स्कुलहरू बन्द गर्ने, ठूला जमघटका कार्यक्रमहरू रद्द गर्ने र देशमा आउजाउ गर्ने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बेलारुसमा भने दैनिकी सामान्य छ । सीमाहरू खुला छन् । मानिसहरू काममा गइरहेका छन् । ट्वाइलेटपेपर किन्न जाँदा कोही अत्तालिएका भेटिन्नन् ।

बेलारुसका राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले भाइरसको संक्रमण फैलन नदिनका लागि कुनै सावधानीका कदमहरू चाल्न आवश्यक नरहेको बताए ।

‘यस्ता कुराहरू भइरहन्छन् । महत्वपूर्ण कुरा नआत्तिनु हो’ मंगलवार चिनियाँ राजदूतलाई राजधानी मिन्स्कमा भेटेपछि राष्ट्रपति लुकासिन्कले भने ।

बेलारुसले फिल्महल वा नाट्यघर बन्द गरेको छैन । उसले मानिसहरूको जमघट हुने कुनै सार्वजनिक कार्यक्रम समेत रोकेको छैन ।

बेलारुसियन प्रिमियरसिप छिमेकी रुसमा समेत फुटबलप्रेमीको लागि टेलिभिजनमार्फत् देखाइनेछ ।

राष्ट्रपति लुकासिन्कले जनाएको ‘एउटा ट्याक्टरले कोरोनाभाइरस निको पार्नेछ’ प्रतिक्रिया बेलारुसको सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो । धेरैले त्यसलाई ठट्टाको विषय समेत बताए ।

राष्ट्रपतिले खेतमा दत्तचित्त भएर काम गर्ने कुरालाई इङ्गित गरेका थिए । उनी आफैँले रक्सी नखाने भएपनि रोग फैलाउन नदिने प्रयासका लागि अलिकति भोड्का पिउनु अनुचित नहुने बताएका थिए ।

आम बेलारुसका जनताहरू भने मौनताबीचमै भाइरसको संक्रमणबारे चिन्तित छन् । किनकि आफ्नो देशबाहिर के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छ ।

राजधानी शहरमा भिडभाडयुक्त कक्षाकोठा छल्नका लागि केही युवा एवं स्कुले विद्यार्थीले सञ्चो नभएको बहाना बनाउने गरेका छन् ।

उनीहरूको चासोलाई बुझेरै केही विश्वविद्यालय एवं क्याम्पसहरूले आफ्ना कक्षाहरू केही घन्टा ढिलो सुरु गर्न थालेका छन् ।

जसले गर्दा विद्यार्थी भिडभाड हुने समय छल्न सकुन् भन्ने उनीहरूको उद्देश्य छ ।

मिन्स्कका सडकमा थोरै मानिसहरू मात्र देखिन्छन् । जेष्ठ नागरिकहरू बढि जोखिममा छन् भन्ने पनि धेरैलाई थाहा छ । अधिकारीहरूका तहबाट ती कुनै सचेतना फैलिएको छैन ।

राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले चिन्ता नमान्नुपर्नाको कारण देश छिर्ने सबैको कोरोनाभाइरस जाँच गरिनु रहेको बताउँछन् ।

उनको दाबी छ– ‘दैनिक दुईदेखि तीनजना मानिसमा कोरोनाभाइरसको संक्रमण देखिन्छ । त्यस्तोबेला उनीहरूलाई क्वारन्टीनमा राखिन्छ र डेढदेखि दुई साताबीचमा छाडिन्छ ।’ राष्ट्रपति लुकासिन्क त्रास र पागलपन भाइरसभन्दा निकै खतरनाक हुने दाबी गर्छन् ।

उनले देशको गुप्तचर सेवा ‘द बेलारुसियन केजिबी’लाई त्रास फैलाउनेको खोजी गर्न आदेश दिएका छन् ।

मंगलवारसम्म बेलारुसमा १५२ वटा कोरोनाभाइरसका घटना देखिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म भाइरसकै कारण त्यहाँ मृत्यु भएको पुष्टि भएको छैन । बरु ३२ जना संक्रमणमुक्त भएको देखिन्छ । बेलारुस थुप्रै कुरामा मौलिक छ ।

अझै मृत्युदण्डको व्यवस्था भएको यो युरोपको अन्तिम देश हो । यो युरोपको एकमात्र देश हो जहाँ अधिकारीहरूले कोरोनाभाइरसलाई हलुका रूपमा लिएका छन् ।

अस्वाभाविक देखिएपनि अरूबेला सरकारको निकै आलोचना गर्ने बेलारुसका विपक्षी अधिकारकर्मी आन्द्रे किम समेत राष्ट्रपतिसँग सहमत छन् ।

किमले फेसबुकमा लेखेका छन्– लुकासिन्क ठीक छन् । किनभने देशव्यापी क्वारन्टीनले बेलारुसको अर्थतन्त्रलाई मार्नेछ ।

उनी थप्छन्– ‘सबैतिर उथलपुथल हुँदा पनि बेलारुस विश्वमै त्यस्तो एउटामात्र देश हो जहाँ अधिकारीहरूले लोकप्रिय हुने बाटो नसमातेर नागरिकको भलो हुने बाटो समातेका छन् ।’

Published : Tuesday, 2020 March 31, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया