मन्त्री पद्मा अर्यालकै क्षेत्रको अस्पतालको अवस्था बेहाल

पुतलीबजार । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको निर्वाचन क्षेत्रको एक मात्र अस्पताल चापाकोट अस्पताल यतिबेला कोरोना भाइरसको संक्रमणको जोखिममा परेको छ ।

कोरोना भाइरससँग जुध्न अस्पतालमा न्यूनतम अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । चापाकोट नगरपालिकामा पर्ने यो अस्पतालमा उपचार गर्नेहरूको भिड हुने गरेको छ ।

स्थानीय तहले आवस्यक केही उपकरण र सुरक्षा कवच (पीपीई) न्यून संख्यामा उपलब्ध गराएको छ । अन्य उपकरण भने प्रदेश र केन्द्रीय सरकारले उपलब्ध गराएको छैन ।

कोरोना संक्रमणका बिरामी आइहाले भने अस्पतालमा कसरी उपचार गर्ने भनेर चिकित्सकहरू चिन्तित बनेका छन् ।

स्थानीय सरकार भने कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणमा कम्मर कसेर लागेको छ ।

अति बिपन्न वर्ग र मजदुर भोकभोकै मर्ने स्थिति सृजना हुन नदिन गाउँ, टोलहरूमा राहतका सामग्री लिएर नगर प्रमुखसहितका जनप्रतिनिधि पुगेका छन् ।

नगरको एक मात्र अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीको ब्यवस्थापनका लागि सरोकारवाला निकायमा पटक–पटक अनुरोध गरिरहँदा पनि माथिल्लो निकायले स्वास्थ्य सामग्री पठाउन ढिलाइ गरेको स्थानीय जनप्रतिनिधिहरूको गुनासो छ ।

झण्डै तीस हजार जनसंख्या रहेको चापाकोट नगरपालिकाका नगरवासीले यसै क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनेकी पद्मा अर्यालले चापाकोट अस्पतालको समस्याको समाधानका लागि कुनै पहल नगरेको आरोप स्थानीयले लगाएका छन् ।

मन्त्री अर्यालले आफ्नै क्षेत्रका अस्पतालमा रहेका स्वास्थ्य सामग्रीको अभावलाई पूरा गर्नेतर्फ ध्यान दिन स्थानीयले आग्रह गरेका छन् ।

Published : Tuesday, 2020 March 31, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया