भिडियो भाइरल बनेपछि देउवा भने, ‘आफ्नो देश आउन नारावाजी गर्नुपर्ने हो ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला जिल्ला हुँदै नेपाल प्रवेश गर्न खोजेका नेपालीहरूलाई मातृभूमि प्रवेशमा रोक नलागाउन आग्रह गरेका छन् ।

सोमबार सभापति देउवाले सामाजिक ट्वीटमार्फत भारतबाट नेपाल आउन चाहनेलाई प्रक्रिया पु¥याएर आउन दिन आग्रह गरेका हुन् ।

सुदूर पश्चिम प्रदेशको दार्चुला पारी भारतीय भूमि धारचुलामा रहेका नेपालीहरूले गरेको नाराबाजीको भिडियो भाइरल भएपछि कांग्रेस सभापति देउवाले तत्काल उनीहरूलाई नेपाल भित्रने वातावरण बनाउन माग गरेका छन् ।

भारतका विभिन्न ठाउँमा काम गर्दै आएका नेपालीहरूको ठूलो संख्या महाकाली नदी किनारमा अलपत्र परेका छन् ।

झोलुङ्गे पुलबाट नेपाल छिर्ने ठाउँमा ताल्चा लगाइएका कारण उनीहरू अलपत्र परेका हुन् ।

सूदूर पश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का विभिन्न जिल्लाबाट भारतमा काम गर्न पुगेकाहरू यो नाकामा आइपुग्दा अलपत्र परेका हुन् ।

भारतीय भूमिमा अलपत्र परेका नेपाली सरकारविरुद्ध नारावाजीमा उत्रिएका छन् । दार्चुला प्रवेश गर्न नपाएका नेपालीहरू महाकाली नदी किनारमा बेवास्तामा परेका छन् ।

उनीहरूले भारतीय भूमिमा बसेर नेपाल सरकारविरुद्ध नारावाजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियो भाइरल बनेपछि सभापति देउवाले ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?’

देउवाले दार्चुला सदरमुकाम पारी भारतको धारचुलामा रहेका सयौँ नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

Published : Monday, 2020 March 30, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया