कोरोनासम्बन्धी स्वास्थ्य सामग्री जिल्ला केन्द्रित गर्न मन्त्रीलाई खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेका कार्यहरू प्रशंसनीय रहेको भन्दै जिल्लाहरूलाई लक्षित गरेर काम अगाडि बढाउन स्वास्थ्यमन्त्रीलाई सुझाव दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग सोमबार मन्त्रालयमा भएको भेटघाटका क्रममा कांग्रेस नेता खतिवडाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेका काम राम्रो भएपनि सुस्त गतिमा भएको बताए ।

‘कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको कार्यहरू उचित छन्’, मन्त्री ढकालसँग भएको सम्वादको बारेमा जानकारी दिँदै खतिवडाले भने, ‘अब ढिला गर्नुभएन । छिटो कामहरू अगाडि बढाउनुपर्छ । जिल्ला केन्द्रित कामहरू गर्नुपर्छ ।’

खतिवडाले स्वास्थ्यकर्मीहरूको स्वास्थ्यसम्बन्धी सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा मन्त्री ढकालको ध्यानाकर्षण गराएका छन् ।

‘अहिले हाम्रो सुरक्षा गर्ने भनेको चिकित्सक र स्वास्थ्यकर्मीहरू हुन्’, उनले भने, ‘सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरूलाई सुरक्षित बनाऔँ । त्यसपछि उहाँहरूले नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नु हुन्छ ।’

जवाफमा स्वास्थ्यमन्त्री ढकालले नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथामका लागि सरकारलाई ठूलो साथ र सहयोग गरेको भन्दै आगामी दिनमा सहयोग निरन्तर चाहिने बताएका थिए ।

मन्त्री ढकालले सातै वटा प्रदेशमा चीनबाट ल्याइएका स्वास्थ्यसम्बन्धी सामग्रीहरू पठाइसकिएको भन्दै क्रमशः जिल्लाहरूमा पनि ती उपकरणहरू पठाउने आश्वासन दिएका छन् ।

Published : Monday, 2020 March 30, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया