जनता भोकै हुँदा टुलुटुलु हेरेर बस्दैन, अबरोध हटाएर सहयोग गरेको छुः कांग्रेस नेता बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘लकडाउन’का कारण जनता समस्यामा परेको भन्दै मजदुरी गरेर गुजारा गर्नेहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सोमबार रिपब्लिका दैनिकसँग कुरा गर्दै केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोक जिल्लाका जनताहरू लकडाउनका कारण समस्यामा परेको बताए ।

‘लकडाउन भएको एक हप्ता भइसक्यो । मजदुरी गरेर खाने जनताहरू समस्यामा परेका छन्’, उनले भने, ‘सरकारको तर्फबाट सहयोगका लागि कुनै पहल भएको छैन । आलटाल नगरेर सहायता दिनुपर्छ ।’

‘लकडाउन’का बेला पनि आफ्नै पहलमा मजदुरहरूलाई खाद्यान्नसहितका सामग्री वितरण गरेका कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का स्वास्थ्य संस्थाहरूलाई मेडिकल सामग्रीहरू तिवरण गरेका छन् ।

कांग्रेस नेता बस्नेतले स्वास्थ्यसम्बन्ध सुरक्षाहरू अपनाएर सहायता वितरण गरेपछि सिन्धुपल्चोकका कम्युनिस्टहरूलाई मन परेको छैन । बस्नेतद्वारा वितरण गरिएका सहायताहरू रोक्न नेकपाका नेताहरूले प्रहरी प्रशासनलाई दवाव दिइरहेका छन् ।

सिन्धुपल्चोक जिल्लामा सरकारले कुनै पनि मेडिकलसम्बन्धी सहायता दिएको छैन । ‘सिन्धुपाल्चोकमा सरकारको उपस्थिति नै देखिएको छैन । मजदुरी गरेर खाने जनतालाई खाद्यान्न दिइएको छैन’, कांग्रेस नेता बस्नेतले भने, ‘जनता भोकै मर्ने अवस्था आएपछि मैले आफै खाद्यान्न सामग्री वितरण गरेको छ । स्वास्थ्य संस्थाहरूमा क्वारेन्टाइन बनाउन बेड र अन्य मेडिकल सुरक्षासम्बन्धी सामग्रीहरू तिवरण गरेको छु ।’

‘लकडाउनका बेला के गर्नुपर्छ, के गर्नु हुँदैन मलाई पनि थाहा छ’, उनले भने, ‘दैनिक मजदुरी गरेर साँझबिहान छाकटार्ने जनता भोकै मर्न थालेपछि चुप लागेर बस्ने कुरा हुँदैन । त्यस्तो अवस्थामा सहयोग गर्नुपर्ने मेरो दायित्व हो ।’

कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले सहायताहरू तिवरण गर्न हिँडेपछि नेकपा सिन्धुपाल्चोकका नेताहरूले सोमबार अबरोध गर्ने प्रयास समेत गरेका थिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सभामुख अग्नि सापकोटाले जितेका छन् । लकडाउनका बेला सभामुख सापकोटाले समस्यामा परेका मजदुरहरूलाई कुनै पनि सहायता दिएका छैनन् ।

बरु नेकपाका कार्यकर्ताहरूले कांग्रेस नेता बस्नेतले सहायताहरू तिवरण गरेको देखेपछि बस्नेतलाई नै साथ दिएर राहत वितरणमा सहयोग गरेको कांग्रेसले जनाएको छ ।

Published : Monday, 2020 March 30, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया