कोरोनाका सामग्रीमा भ्रष्टाचार गरेकाे भन्दै स्वास्थ्यमन्त्रीलाई हटाउन तरुण उपाध्यक्षको माग

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कोरोना भाइरसको संक्रमण रोकथाम, पहिचान र उपचारमा उपयोग हुने बन्दोबस्तीका सामग्रीमा समेत भ्रष्टाचार हुन अत्यन्तै लज्जाजनक कुरा भएको बताएका छन् ।

तरुण उपाध्यक्ष चापागाइँले आइतबार सामाजिक सञ्जालमार्फत विश्व जगत कोरोना भाइरसको संक्रमणका कारण संकटमा रहेका बेला नेपालमा भने कोरोनाका सामग्री खरिदमा भ्रष्टाचारमा संलग्न भएको विषयले जनताको भावना र मर्म चोट पुगेको बताएका छन् । उनले मन्त्री, सचिव, स्वाथ्य विभागका महानिर्देशकसहितका उच्च राजनीतिक नेतृत्व र कर्मचारी तथा बिचौलियाहरूलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

‘राज्य बिषम महामारीको चरम चपेटामा भएका बेला कमिशन र भ्रष्टाचारमा रमाउने मन्त्री भानुभक्त ढकालले तुरुन्त राजीनामा दिनुपर्छ’, उनले भनेका छन्, ‘कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका लागि जनताले सरकारलाई अपार साथ दिइरहेका छन् । महामारी साम्य भएपछि सरकारसंग यस्तो महामारीमा पनि गरेको अनियमितताका विषयमा छानविन र हिसाब किताब नेपाल तरुण दलले लिनेछ ।’

सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरसको संक्रमणविरुद्ध प्रयोग हुने उपकरणहरूमा चरम भ्रष्टाचार र अनियमितता भएको भन्दै आलोचना भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले चीनसँग तीन हजार पर्ने स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग हुने ‘पीपीई’लाई १५ हजारसम्म हालेर खरिद गरिएको छ । बिचौलियाहरूसँग मिलेर अन्य सामग्रीहरूमा पनि त्यसै गरी महँगोमा खरिद गरिएको छ ।

Published : Sunday, 2020 March 29, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया