कोरोनाको सामग्रीमा भ्रष्टाचार गर्ने कार्य अति भयो सरकारः कांग्रेस नेता महर्जन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जनले कोरोना भाइरसको संक्रमणको रोकथाम र पहिचानका लागि चीनबाट खरिद गरिएको सामग्रीमा भ्रष्टाचार भएको भन्दै आक्रोश जनाएका छन् ।

महर्जनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै कोरोना भाइरसको महामारी रोकथामका लागि सिङ्गो देशले सरकारलाई साथ दिएका बेला मन्त्री, सचिव र जिम्मेवार व्यक्तिहरू भ्रष्टाचारमा लागेको भन्दै आपत्ति जनाए । उनले विपत्तीको बेला पनि कमिशन र भ्रष्टाचार गर्नेहरूलाई जनताले कदापि नछाड्ने चेतावनी दिए ।

उनले विपत्तीको बेला सामान खरिदमा भएको भ्रष्टाचार लुक्न नसकेको भन्दै जनतालाई एकएक हिसाव दिनुपर्ने माग गरेका छन् ।

‘सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीहरू चस्मा, पीपीई, जाँच गर्दा लगाउने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमूना संकलन गर्ने ट्युब खरिद गर्दा व्यापक भ्रष्टाचार भएको छ’, उनले भनेका छन्, ‘कोरोना भाइरसको संक्रमण रोक्नका लागि जनताले साथ दिएका छन् । यस्तो बेला भ्रष्टाचार गर्ने कार्य ठीक होइन ।’

उनले गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत स्मरण गरेका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट खरिद गरेको कोरोना भाइरसको संक्रमण रोक्ने उपरणहरूमा व्यापक भ्रष्टाचार भएको भन्दै आलोचना भइरहेको छ ।

Published : Sunday, 2020 March 29, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया