दाङ ३ का कम्युनिस्ट सांसद केसीले देखेनन् आफ्नै मतदाताहरूको भोको पेट

तुलसीपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हीराचन्द्र केसीले लकडाउनका कारण समस्यामा परेका आफ्नो निर्वाचन क्षेत्रका जनतालाई राहत र सहयोग गर्ने विषयमा एक शब्द पनि नबोलेको भन्दै मतदाताहरूले आक्रोश पोखेका छन् ।

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा लकडाउनका कारण समस्यामा परेका मजदुर र अति निम्न वर्गाका सम्बन्धमा केही पनि बोलेका छैनन् । सांसद केसीले कोरोनाबाट बच्न अपील भने गरेका छन् ।

एक हप्टादेखि लकडाउनका कारण केसीका मतदाताहरू समस्यामा परेका छन् । उनीहरूलाई राहत दिने विषयमा कुनै पहल नगरेको भन्दै सांसद केसीको आलोचना भएको स्थानीयहरूले बताएका छन् ।

एमाले पृष्ठभूमि भएका नेकपाका सांसद केसीले कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सकहरूलाई आवश्यक पर्ने ‘पीपीई’ उपलब्ध गराउने विषयमा पनि एक शब्द विज्ञप्तिमा उल्लेख गरेका छैनन् ।

उनले कोरोनाबाट बच्ने सर्वोत्तम उपाए भनेको यस रोगबाट संक्रमित भएकासँग सजक हुनु नै भएको जनाएका छन् । ‘यो भाइरसको संक्रमण कसलाई छ भन्ने कुरा परीक्षणबिना कसैलाई थाहा हुँदैन’, उनले भनेका छन्, ‘म सम्पूर्ण नागरिकहरूलाई कोरोना भाइरसबाट बच्न बिदेशबाट आएकासँग सचेत हुन अनुरोध गर्दछु ।’

नेकपाका सांसद केसीले कोरोना संक्रमणको वर्तमान अवस्थामा सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन् । ‘सरकारले तोकेको दिनसम्म घरबाट कतै ननिस्कन समेत आह्वान गर्दछु’, उनले भनेका छन् ।

आफ्ना मतदाताहरूलाई लकडाउनभरि घरभित्रै बस्न आग्रह गरेका नेकपाका सांसद केसीले मजदुरी गरेर गुजारा चलाउने अति निम्न वर्गको भरणपोषणका बारेमा कुनै चासो नदेखाएकोमा आलोचना भएको हो ।

केन्द्र र प्रदेश ५ मा नेकपाकै सरकार छ । जनतालाई राहत माग गर्ने विषयमा उनले केही बोल्न नसक्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

Published : Sunday, 2020 March 29, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया