प्रदेश ५ का सबै जिल्लामा राहतसहित कोरोनाविरुद्धका सामान पठाउन कांग्रेसको माग

बुटवल । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दल प्रदेश ५ ले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्रीहरूको अविलम्ब व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

संसदीय दलका कार्यबहाक नेता वीरेन्द्रकुमार कानोडियाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई कोरोना भाइरसविरुद्धको अभियानमा तिब्रताका साथ लाग्न आग्रह गरेका छन् । उनले औषधि र स्वास्थ्यसम्बन्धी उपकरणहरू प्रदेशका सबै जिल्लामा पुर्‍याउन आग्रह गरेका हुन् ।

कार्यबहाक नेता कानोडियाले मुख्यमन्त्री पोखरेललाई फोन गरेर प्रदेश ५ का सबै जिल्लाहरूमा कोरोनाविरुद्धको उपचारमा चिकित्सकहरूलाई आवश्यक पर्ने सबै सामग्रीहरू उपलब्ध गराउन र स्वास्थकर्मीहरुको मनोबल उच्च राख्न आग्रह गरेका हुन् ।

कानोडियाले प्रदेश ५ का सबै जिल्लाहरूमा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षणको व्यवस्था गर्न पनि मुख्यमन्त्री पोखरेलसँग आग्रह गरेका थिए ।

कानोडियाले सरकारी एवम् उधोग वाणिज्य संघमार्फत सुरक्षात्मक उपायसहितका अनलाइन र सहुलियत घुम्ती सेवाको व्यवस्था गर्न सरकारलाई सझाव दिए ।

लकडाउनका कारण अति निम्न वर्गलाई दैनिक गुजारा चलाउन समस्या परेको भन्दै कानोडियाले प्रदेश र स्थानीय सरकारले समन्वय गरि जनतालाई राहतका कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् ।

कानोडियाले स्थानीय तहले कोरोना भाइरसको संक्रमण रोक्न विषयमा जिम्मेवारी बोध गरेर काम गर्न आग्रह गरेका छन् ।

जवाफमा मुख्यमन्त्री पोखरेलले आइतबार सबै जिल्लामा कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामग्री पठाउने आश्वासन दिएको कानोडियाले जानकारी दिए ।

Published : Sunday, 2020 March 29, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया