कोरोना पुष्टि भएका व्यक्तिका परिवारको परीक्षण छिटौ गरौँः शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको परिवारका सदस्यलाई परीक्षण गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

प्रवक्ता शर्माले आइतबार ट्वीट गर्दै कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरूको परिवारको नमूना संकलन गरेर परीक्षण गर्न आग्रह गरेका हुन् ।

नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना पोजेटिभ देखिएकोमा एक जना निको भइसकेका छन् ।

चार जना उपचारका क्रममा अस्पतालमा छन् । कोरोना देखिएकाहरूको परिवारका सदस्यलाई पनि संक्रमण देखिन सक्ने भएकोले परीक्षणमा ढिलाइ गर्न नहुने शर्माले बताएका हुन् ।

संक्रमण देखिएकाहरूको परिवारका सदस्यमा पनि संक्रमण देखिए त्यो जुनसुकै बेला समुदायमा फैलन सक्ने जोखिम रहेकोले परीक्षणमा ढिलाइ गर्न नहुने शर्माले बताएका छन् ।

‘भेटिएका संक्रमितका परिवारजनको कोरोना परीक्षण गर्न हामी कुन साइतको प्रतीक्षा गरिरहेका छौं ?’, शर्माले भनेका छन्, ‘संक्रमण समुदायमा फैलने साइतको प्रतीक्षा हामी पक्कै गरिरहेका छैनौं । उसो भए किन परीक्षणमा ढिलाइ ?’

कांग्रेसले पटक–पटक सरकारलाई कोरोना परीक्षण संख्या वृद्धि गर्न ध्यानाकर्षण गराउँदै आएको छ । सरकारले कोरोना भाइरसको संक्रमणको नमूना संकलन गरेर परीक्षणमा ढिलाइ गरिरहेको भन्दै आलोचना हुँदै आएको छ ।

Published : Sunday, 2020 March 29, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया