कांग्रेस सांसद मल्लले सरकारलाई दिए तीन करोड र आफ्नो तलव, भत्ता

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति एवम् सुदूरपश्चिमका प्रदेश सांसद कर्णबहादुर मल्लले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन करोड रुपियाँ प्रदेश सरकारलाई दिने घोषणा गरेका छन् ।

डडेल्धुरा ‘ख’ बाट निर्वाचित सांसद मल्लले निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले दिने तीन करोड रुपियाँ सुदूरपश्चिममा कोरोना रोकथामको लागि सरकारलाई दिने घोषणा गरेका हुन् ।

प्रदेश सरकारले महामारीबाट जोगिन घोषणा गर्ने प्याकेजमा रकम अपुग भए आफूले घोषणा गरेको रकम प्रयोग गर्न अर्थमन्त्रीलाई जानकारी गराइसकेको सांसद मल्लले बताएका छन् ।

उनले कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदासम्म आफूले सरकारबाट पाउने सम्पूर्ण सेवा–सुविधा पनि सरकारलाई सहयोग स्वरुप प्रदान गर्ने बताएका छन् ।

मल्लले कांग्रेस र अन्य दलका सांसदहरूलाई पनि विपदको घडीमा सरकारलाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

Published : Saturday, 2020 March 28, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया