कोरोनाविरुद्धको कोषमा कांग्रेस नेता बानियाँले दिए राक्सिङलाई दुई लाख

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुर जिल्लाको राक्सिङ गाउँपालिकालाई दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

बानियाँले शुक्रबार विज्ञप्ति जारी गरेर सो क्षेत्रको जनप्रतिनिधि भएको नाताले गाउँपालिकालाई कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानमा साथ दिन दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने जनाएका हुन् ।

उनले अति विपन्न चेपाङ, दलित, तथा तामाङसहितका जनजाति समुदायको बाहुल्यता रहेको राक्सिङ गाउँपालिकाको कार्यालयले कोरोना भाइरस रोक्न शुरु गरेको अभियानमा आफ्नो पनि साथ रहेको बताएका छन् ।

गाउँपालिकाले कोरानो भाइरसको संक्रमणको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

थप परीक्षणका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जानुपरेमा प्रतिबिरामी ५ हजार रुपियाँ प्रदान गर्ने निर्णय पनि गाउँपालिकाले गरेको भन्दै नेता बानियाँले प्रशंसा गरेका छन् ।

सो गाउँपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरेको छ । कोषमा गाउँपालिकाले २५ लाख रुपियाँ जम्मा गरेको छ ।

कांग्रेस नेता बानियाँले अति विपन्न परिवार र मजदुरहरूलाई राहत उपलब्ध गराउन केन्द्र र बागमती प्रदेश सरकारसँग माग गरेका छन् ।

Published : Friday, 2020 March 27, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया