पटनाबाट व्यापार सहजीकरणबारे नेपाल–भारत वार्ता

काठमाडौं । भारतको पटनाबाट नेपालसँगको व्यापार सहजीकरणका लागि दुईपक्षीय छलफल भएको छ । भन्सार विभागका महानिर्देशक र पटनाका भन्सार अधिकारीहरूको बिहीबार दिउँसो भिडिओ कन्फरेन्समार्फत छलफल भएको हो ।

अत्यावश्यक वस्तुको सहज आपूर्ति व्यवस्थापनका विषयमा दुई निकायका अधिकारीहरूको छलफल भएको छ ।

यसैगरी भारतमा लकडाउन भएपछि अवरुद्ध भएको नेपालको आयातलाई सहज बनाउन सहयोग गर्न पनि भन्सार विभागका महानिर्देशक सुमन दाहालले पट्नाका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

छलफलमा नेपाली पक्षले भारत र तेस्रो मुलुकबाट आयातित वस्तुहरुको पारवहन प्रक्रिया सहज बनाइदिन आग्रह गरेको छ । ‘नेपालमा भन्सारमा स्वास्थ्य सुरक्षाका लागि अपनाइएका उपायहरूप्रति उनीहरूले खुशी व्यक्त गरे र नेपाल प्रवेश गर्न लागेका वस्तुको पारहवन पहिलो प्राथमिकता हुने बताएका छन्’, महानिर्देशक दाहालले भने ।

नेपाली पक्षले मास्क, स्यानिटाइजर र भेन्टिलेटर जस्ता वस्तुको निकासीलाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ । ‘अहिले आयात रोकिए पनि बाटोमा रहेका वस्तु निकासीका लागि भने सहज व्यवस्पान गरिदिन उनीहरू सहमत भएका छन्’, उनले भने ।

उनीहरूले यसबारे आफ्ना माथिल्ला निकायसँग कुरा गरेर औषधिलगायतका अत्यावश्यक वस्तु नेपाल पठाउने बाटो खुला गर्ने बचन दिएका दाहालले जानकारी दिए ।

यसैगरी भन्सार एजेन्टहरूका लागि पास उपलब्ध गराउन र व्यवसायका लागि भारत जानुपर्ने व्यवसायीका लागि पनि पास उपलब्ध गराइदिन भन्सार विभागले बिहार सरकारलाई आग्रह गरेको छ ।

जवाफमा भारतीय पक्षले नेपाल भित्रिने अत्यावश्यक वस्तुको सहज निकासीमा सहयोग गर्ने र नेपालले भनेजस्तो भन्सार एजेन्ट र व्यवसायीलाई पास उपलब्ध गराइदिने वचन दिएको छ ।

भारतीय पक्षले नेपालमा वनस्पतीको क्वारेन्टाइन वीरगञ्ज भन्सारबाट टाढा रहेकाले त्यसको व्यवस्था गर्न आग्रह गरेका छ्न् । नेपाली पक्षले यसको सहज व्यवस्थापनका लागि अन्य निकायसँग छलफल गर्ने बचन दिएको छ ।

नेपालको मुख्य दुई व्यापारिक नाका वीरगञ्ज र विराटनगरमा बिहारबाट सामान आयात हुन्छ । विभागले पश्चिम बंगाल र उत्तर प्रदेशसँग पनि यस्तै छलफलको तयारी गरेको छ । यी ३ राज्यबाट सहज व्यापार भए नेपाल र भारतबीचको दुईपक्षीय व्यापार लगभग सबै समेटिन्छ ।

Published : Friday, 2020 March 27, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया