कोरोनासँग नागरिकलाई बचाउन धरानमा मेयरको नौलो कार्य

धरान । धनरान उपमहानगरपालिकाका मेयर तिलक राईले विदेशबाट आएका व्यक्तिहरू खोजी गर्न निर्देशन दिएका छन् ।

विदेशबाट आएका नागरिकहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन शुरु गरिएको हो ।

मेयर राईले विदेशबाट आएका व्यक्तिहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि साबुन र पानीले हातधुनेदेखि सामाजिक दुरी कायम गर्नेसम्म जनचेतनाहरू चलाउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको छ ।

प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको छ ।

धरानमा ६४ जना विदेशबाट आएको विवरण संकलन भएको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनीहरूलाई उपमहानगरपालिकाको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै संक्रमित युवती चढेकै हवाईजहाजमा आउनेमा धरानका पनि दुई जना फेला परेका थिए ।

उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशङ्कर साहका अनुसार प्रतिष्ठानको सम्पर्कमा आएका १० बिमारीमध्ये ६ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ ।

छ जनालाई प्रतिष्ठानको आइसोलेशन वार्डमा राखिएको छ । पाँच जनाको थ्रोट स्वाब लिएर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको तर रिपोर्ट आइनपुगेको निर्देशक साहले जानकारी दिएका छन् ।

Published : Friday, 2020 March 27, 9:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया