विपन्‍न नेपालीका लागि तत्काल राहतको घोषणा गराैँः रामचन्द्र पाैडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आमसहमति जुटाएर नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) ले विश्‍वव्यापी महामारीको रुप लिइरहेको बेला बिहीबार एक सन्देश जारी गर्दै नेता पौडेलले सरकारका निर्णय कार्यान्वयनका लागि पनि आमसहमति आवश्यक रहेकोमा जोड दिएका हुन् ।

नेता पौडेलले मुलुकमा आइपरेको समस्यासँग जुध्‍न सहमतिको सरकार बनाउने संसारमा प्रचलन रहेको समेत सुझाएका छन् ।

‘सरकारलाई आग्रह गर्न चाहन्छु, यस्तो बेलामा आमसहमति जुटाएर नागरिकका समस्या समाधान गरिनुपर्छ’, उनले भने ।

‘यस्तो बेलामा आम सहमति आवश्यक हुन्छ । जसका कारणले सरकारका निर्णय कार्यान्वयनमा समस्या नहोस्’, नेता पौडेलले सन्देशमा भनेका छन्, ‘यस्तो बेलामा आवश्यक पर्‍यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियाँमा यस्तो प्रचलन पनि छ ।’

मुलुक जोगाउनका लागि लकडाउनको समयमा घर घरमा बसेर चिन्तन गर्न आवश्यक रहेको भन्दै उनले विपन्‍न नेपालीका लागि तत्काल राहतको घोषणा गर्न सरकासँग माग गरेका छन् ।

Published : Thursday, 2020 March 26, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया