माइकिङमार्फत ललितपुरका गाउँमा जनचेतना फैलाउँदै कांग्रेस नेता महर्जन

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जनले कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि जनचेतना फैलाउन ललितपुर जिल्लाका दक्षिणी भेगमा माइकिङ गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ गिम्दीमा महर्जनको नेतृत्वमा जनचेतना फैलाउन माइकिङ गरिएको हो । माइकिङमार्फत घरबाट बाहिर नआउन, गाउँमा प्रवेश गर्ने नयाँ मान्छेलाई सेल्फक्वारेन्टाइनमा राख्ने, साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिने जस्ता कुराहरू सम्झाइएको छ ।

नेविसंघ र कांग्रेसका स्थानीय नेताहरूसहित गाडीमा माइकिङ गर्दै हिँडेका कांग्रेस नेता महर्जनले कोरोना भाइरसको संक्रमणबाट बचाउन जनचेतना फैलाउन गाउँमा आएको बताए । ‘ललितपुरको दक्षिणी भेगका सर्वसाधारणहरू पैदल हिँडेर काठमाडौंबाट गाउँमा आउने क्रम जारी रहेको देखिएको छ’, उनले भने, ‘ती व्यक्तिहरूका विषयमा प्रहरी प्रशासनको ध्यान जनु आवश्यक छ ।’

गाउँलेहरूलाई गाउँ वा टोलमा आउने नयाँ व्यक्तिका विषयमा आफै निगरानी गर्न पनि आग्रह गरिएको छ ।

ललितपुर क्षेत्र नम्बर १ लाई दोस्रो कर्णालीका रुपमा लिइन्छ । यो क्षेत्रमा कांग्रेस नेता महर्जनले भूकम्पका बेला पनि राहत वितरण गर्नेदेखि उद्धारलगायतका कार्यहरू गरेका थिए ।

महर्जनका साथै बागमती गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष विष्णु तिमिल्सिना, वडा नम्बर २ का वडाध्यक्ष विजयकुमार लों, वडा सदस्य नवराज खड्का, नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुर जिल्ला सचिव दीपक घिमिरे (समिर), तरुण दल जिल्ला सदस्य सुशील खड्का, मुकुन्द तिमिल्सिना लगायतको समूहले माइकिङ गर्दै आएको छ ।

कांग्रेसका युवा नेता महर्जन सामाजिक कार्यमा निकै सक्रिय मानिन्छ । कोरोना भाइरसको संक्रमणको जोखिम भएपछि सरकारले लक डाउन शुरु गर्नेवित्तिकै गाउँका जनतामा जनचेतना फैलाउन महर्जन आफै सक्रिय भएर लागेका हुन् ।

नेता महर्जन प्रदेश सभामा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । अन्तर्घातका कारण उनी झिनो मतले पराजित भएका थिए । महर्जन ललितपुर कांग्रेसमा लोकप्रिय मानिन्छ ।

Published : Thursday, 2020 March 26, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया