कांग्रेसको शुभेच्छुक संस्थाहरूले दिए आविष्कार केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

नेपाली जनसम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपाली पनि पठाएको रकम नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेका हुन् ।

साइप्रस, युएई, कतार र साउदी अरेबियाबाट प्राप्त एक लाख ३५ हजार ४ सय ४१ रूपियाँमा कांग्रेस प्रवक्ता तथा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माले १० हजार रूपियाँ थपेर हस्तान्तरण गरेका छन् ।

‘कोरोना जस्तै प्रश्नमा नेपालको अनुसन्धान दक्षता बढाऔं भन्ने आग्रह साथ साइप्रसको नेपाली जनसम्पर्क समिति, साउदी, युएई र कतारमा रहेका साथीहरूले जम्मा गरेर पठाएको एक लाख ३५ हजार ४ सय ४१ रुपियाँमा १० हजार थप गरेर आविष्कार केन्द्रमा पुगेर सुम्पिएँ’, उनले भने, ‘श्रदेय महावीर पुनलाई नेपाली मनले पठाएको धन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।’

महामारीको जोखिममा नेपालले केही योगदान गर्न सक्ने अभिप्रायले नै देश बाहिर रहेका नेपालीले आविष्कार केन्द्रलाई सहयोग गरेकाले यो कार्यमा आफ्नो पहलकदमी निरन्तर हुने आविष्कार केन्द्रका प्रमुख पुनले बताए ।

‘सानो–सानो प्रयासबाटै ठूला आविष्कार सम्भव भएको हो, हामीले गरिरहेको काम सानो होला, सीमित स्रोतसाधन होला, आशा गनुपर्छ, विस्तारै दायरा फराकिलो हुनेछ’, पुनले भने ।

Published : Wednesday, 2020 March 25, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया