कोरोनाको परीक्षण जिल्लामै गरौँ, निम्न वर्गलाई राहत चाहियोः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना भाइरसको संक्रमणको परीक्षण तत्कालका लागि कम्तिमा पनि सात वटै प्रदेशहरूमा गर्ने व्यवस्थाको माग गरेका छन् ।

बुधबार प्रेस नोट जारी गर्दै खतिवडाले सरकारद्वारा कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएका उपायहरूको सह्राना गरे । उनले तत्कालका लागि सात वटै प्रदेशमा नमूना परीक्षणको व्यवस्था गरेर अर्को चरणमा छिटोभन्दा छिटो जिल्लामा नै त्यसको परीक्षणको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

उनले सकिन्छ भने सबै ७७ वटै जिल्लाहरूमा कोरोनाको नमूना परीक्षणको व्यवस्था गर्न सुझाव दिए । ‘सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहिलेसम्म गरेको तयारी र निर्णयहरू ठीक छन्’, उनले भने, ‘कोरोनाको संक्रमणको परीक्षण गर्न नमूना लिएर काठमाडौं आउनुपर्ने व्यवस्थाको अन्त्य होस् ।’

नेपाली कांग्रेसका नेता खतिवडाले अहिलेसम्म सरकारले कोरोना भाइरसविरुद्धका औषधि, परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षासम्बन्धी सामानहरू व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरे । उनले दिनदिनै निर्णय भएका समाचार जनताले हेर्न र सुन्न पाए पनि जिल्लामा नै परीक्षण गर्ने व्यवस्थामा गर्न नसकेकोमा असन्तुष्टि जनाए ।

‘आवश्यक सामान छैन भने छिटो खरिद गर्नुपर्छ’, उनले भने, ‘कुनै देशले पठाइदेला भनेर कुरेर बस्ने होइन । छिनोभन्दा छिटो सामान खरिद गर्नुपर्छ ।’

भारतबाट आएका नेपालीहरू गाउँमा गइसकेको भन्दै खतिवडाले भने, ‘गाउँमा कुनै व्यक्ति बिरामी भयो भने लक डाउनका कारण अस्पतालसम्म आउन कठिनाइ हुने अवस्था छ । त्यो विषयलाई पनि ध्यान दिनुपर्छ ।’

नेपाली कांग्रेसले समेत सरकारलाई आर्थिक सहयोग गरेको भन्दै खतिवडाले दैनिक ज्यालादारी गरेर साँझबिहानको जोहो गर्ने निम्न वर्गका परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका छन् ।

Published : Wednesday, 2020 March 25, 3:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया