अडियो प्रकरणमा मेरो संलग्ना छैनः राजकिशोर यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले अडियो टेप प्रकरणमा आफूलाई जोडेकोमा आपत्ति जनाएका छन् ।

नेता यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत अडियो प्रकरणमा आएको आफ्नो विषयका कुराहरूमा कुनै सत्यता नरहेको बताए ।

‘केही अनलाइनहरूमा आएको सम्वाद टेपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, नेता यादवले भनेका छन्, ‘गुड्डु सिंहले सम्वादमा मसँग कुराकानी भएको कुरामा कुनै सत्यता छैन ।’

‘टेलिफोनमा मात्र हैन विगत छ महिनादेखि न त कुनै किसिमको भेटघाट र फोन सम्वाद भएको छैन’, उनले भनेका छन्, ‘त्यसैले यो नितान्त मेरो राजनीतिक चरित्र हत्या गर्ने गन्ध आएको देखिन्छ ।’

‘सम्वादमा रहेका अन्य दुई जनासँग मेरो कुनै चिनजान र आजसम्म भेटघाट भएको छैन’, उनले भनेका छन्, ‘यदि कसैले पनि मेरो सम्वाद भएको पुष्टि गरेमा म राजनीतिबाट सन्यास लिने प्रतिबद्धता गर्दछु ।’

उनले भनेका छन्, ‘मेरो गरिमालाई कसैले षडयन्त्रपूर्ण तरिकाले बदनाम गरे कानूनी कार्वाही गर्न बाध्य हुनेछु ।’

राजपाका प्रदेश २ बाट राष्ट्रिय सभाको सांसदमा निर्वाचित भएका शेखरकुमार सिंहले साढे दुई करोड बुझाएर सांसद बनेको अडियो टेप सार्वजनिक भएको छ ।

सो विषयमा राजपाको अध्यक्ष मण्डका सदस्य यादवलाई जबरजस्ती मुछेर मानमर्दन गर्न खोजिएपछि उनले समाचारको खण्डन गरेका हुन् ।

Published : Thursday, 2020 March 19, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया