कम्युनिस्ट सरकार ज्ञानी छु भन्ने भ्रमबाट मुक्त होस्ः डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले कम्युनिस्ट सरकार आफूलाई बहुत ज्ञानी छु भन्ने भ्रममा रहेको आरोप लगाएकी छिन् ।

संसदको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद डा.संग्रौलाले नेकपाको सरकारले बोकेको ज्ञानी छु भन्ने भ्रमबाट मुक्त हुन सुझाव दिइन् ।

‘कुलपति समेत रहनुभएका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक छ’, उनले भनिन् ।

‘दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन छन्’, डा.संग्रौलाले भनिन्, ‘विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ ।’

‘६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन छन्’, उनले भनेकी छिन्, ‘विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छायाँ छ । भागबण्डाका आधारमा नेतृत्व चयन नहोस् । तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस् ।’

‘लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार न प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई । लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा नहोस्’, उनले भनिन्, ‘सरकारका काम कारबाहीलाई राम्रो–नराम्रो छुट्टयाउने सदन हो । यो विषय तत्काल सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Published : Tuesday, 2020 February 25, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया