धापाखेलका गुरुको धन्दाले ललितपुर हल्लियो, साइला नं. वानकाे हर्कत

लगनखेल । ललितपुर जिल्लाको धापाखेलमा ‘विनोद गुरु’ भनिने विनोद घिमिरेले अबैध रुपमा जुवाको धन्दा चलाउँदै आएको रहस्य बाहिर आएको छ ।

घिमिरेको जुवाको धन्दा पछिल्लो समय मौलाएको छ । चार–पाँच महिनाभित्रै घिमिरेले सात–आठ करोड रुपियाँ कमाइ गरिसकेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुवाको धन्दा चलेका समाचार बाहिर आइरहेका बेला धापाखेलमा घिमिरेले जुवाको धन्दा चलाएका हुन् । स्रोतका अनुसार ‘साइँला नम्बर वान’ अर्थात ‘जुवा किङ’ घिमिरेले ललितपुर प्रहरीलाई सेटिङ मिलाएका छन् ।

महानगरीय प्रहरी वृत्त, सातदोवाटोका एकजना जुनियर प्रहरी अधिकृतका अनुसार धापाखेलमा घिमिरेले ठूलो रकमको जुवा खेलाउने गरेका छन् । यो कुरा सातादोबाटो प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय ललितपुरसम्मका उच्च अधिकारीहरूलाई जानकारी छ । तर, प्रहरीले घिमिरेको जुवाको अखडामा कहिल्यै पनि छापामारेको छैन ।

घिमिरेले नेपाली सेनाका पूर्व जर्नेल होमकुमार लावतीको आडमा जुवा चलाउँदै आएको स्रोतले जनाएको छ । ‘विनोद गुरुले सेनाका पूर्वजर्नेल होमकुमार लावतीको काँधमा बन्दुक राखेर जुवाको अबैध धन्दा चलाएका छन्’, स्रोतले भन्यो ।

महानगरीय प्रहरी वृत्त सातदोवाटो ललितपुरका प्रहरी प्रमुख एवम् डीएसपी मित्रबन्धु शर्माले धापाखेलमा जुवाको ठूलो अखडा छ भन्ने जानकारी आफूले पनि पाएको बताए । ‘धापाखेलामा जुवा खेलाउने गरेको छ भन्ने सूचना मलाई पनि छ’, उनले भने, ‘यस विषयमा हामीले सुक्ष्म रुपले अनुसन्धान गरिरहेका छौँ ।’

डीएसपी शर्माले धापाखेल मात्रै होइन आफ्नो ईलाकाभित्र हुने पनि अबैध र गैरकानूनी कार्य भयो भने जो भएपनि नछाड्ने चेतावनी दिए । ‘म पनि भरखरै आएको छु । धापाखेलको जुवा काण्डबारेमा मलाई पनि जानकारी छ’, उनले भने, ‘जुवाको अखडा तोडिन्छ ।’

डीएसपी शर्माले जुवा, मिटर व्याज वा अबैध गतिविधिका विषयमा सुक्ष्मरुपमा जानकारी गराउन पीडितहरूलाई अपील पनि गरेका छन् । उनले भने, ‘हामीलाई पनि सबै कुराको जानकारी नहुन सक्छ । पीडितहरूले गोप्य रुपमा आएर जानकारी दिनुभयो भने कारबाही हुन्छ । प्रहरी चुप लागेर बस्दैन ।’

‘जुवा किङ’ घिमिरेले पछिल्लो समय बस्नेत, श्रेष्ठ र लामा थर भएका तीनजना व्यक्तिहरूलाई टाँट बनाएका छन् । बस्नेत, श्रेष्ठ र लामा थरका आफन्तहरूले घिमिरेको समूहले जुवा खेलाएर लाखौँ रकम लुटेको आरोप लगाएका छन् । आवश्यक पर्‍यो भने घिमिरेको समूहबाट टाँट बनाइएका व्यक्तिहरूकाे नाम सार्वजनिक गरिनेछ ।

घिमिरेले तामा र चुम्बक प्रयोग गरेर बनाइएका कौडा सेटिङमा खेलाउने गरेको एकजना पीडितका आफन्तले बताएका छन् । घिमिरेको जुवाको अड्डामा अष्ट लामा, युवराज लामा, कान्छा लामा, राजु लामा, दीपक राई, सुशील न्यौपानेलगायतका हाइप्रोफाइल व्यक्तिहरू जाने गरेका छन् ।

तिहारको बेला काठमाडौंको चक्रपथमा गुण्डा नाइके ‘बले’ भनिने बलराम सापकोटासहितका हाइप्रोफाइल व्यक्तिहरू जुवाको अखडाबाट पक्राउ परेका थिए । उनीहरूले मुद्धा समेत खेप्नु परेको छ ।

चक्रपथको सोही घटनामा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवम् पूर्वगृह राज्यमन्त्री ईन्द्र बानियाँ पनि परेका चर्चा थियो । बानियाँले ८० लाख सोही जुवाबाट जितेको चर्चा बजारभरि थियो ।

पछिल्लो समय काठमाडौंको हनुमानढोकाको पछाडि पनि सेटिङमा अबैध जुवा खेलाइने गरिएको छ । हनुमानढोकाको पछाडि राजीव महर्जनले सेटिङमा जुवा खेलाउने गरेको उच्च स्रोतले जनाएको छ ।

भक्तपुरमा रमेश लामाले जुवा खेलाउँदै आएका छन् । भक्तपुरमा रमेश लामा जुवा किङका रुपमा परिचित छन् ।

Published : Sunday, 2020 February 23, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया