अन्तर्घात अन्त्य गर्ने हो भने कांग्रेस ठूलो पार्टी बन्छः दीपक गिरी

धरान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले कांग्रेसलाई सबैभन्दा शक्तिशाली पार्टी निर्माण गर्न पार्टीभित्र तन्तर्घातको अन्त्य हुनुपर्ने बताएका छन् ।

बुधबार धरानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले पार्टीभित्र बृहत् र वास्तविक एकताको खाँचो भएको बताए ।

‘सङ्कलप गरौँ, अन्तर्घातको अन्त गरौँ ! सभापति र वरिष्ठ नेताले एउटै माला लगाउँदैमा, संगै खाना खाँदैमा पार्टीमा एकता हुँदैन’, उनले भने, ‘दिलभित्रैबाट तनमनले एकता हुनु सक्नुपर्दछ ।’

मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा धरान उपमहानगरपालिकाका मेयरमा कांग्रेसले विजयी गरेको उदाहरण दिंदै पार्टीमा एकता भए कांग्रेस नै देशको शक्तिशाली पार्टी हुने गिरीले बताए ।

कार्यक्रममा कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, डा.डिला संग्रौला, युवा नेता रामहरि खतिवडा, उदयशम्शेर राणा लगायत अन्य नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 February 19, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया