लामो समयपछि कांग्रेसले गर्‍यो लोभलाग्ने कार्यक्रम, गाउँका कार्यकर्ताहरू मख्ख

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुमा विभिन्न दल परित्याग गरेर पार्टी प्रवेश गरेका छन् ।

थुलुङदूधकोशी गाउँपालिकामा नेकपा लगायत अन्य पार्टी परित्याग गरी सयौँ स्थानीयहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसको थुलुङदूधकोशी गाउँपालिका कार्यसमितिले मुक्लीस्थित गाउँपालिका प्राङ्गणमा आयोजना गरेको सभामा उनीहरू कांग्रेसमा प्रबेश गरेको कांग्रेसले जनाएको छ ।

नवप्रबेशीहरूलाई महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीमा स्वागत गरेका थिए ।

महामन्त्री डा.कोइरालाले कम्युनिस्ट सरकार र नेकपासँग नागरिकहरूको आशा र विश्वाश समाप्त भइसकेको बताए । उनले देशैभरि कांग्रेसप्रति आकर्षण बढी रहेको बताए ।

डा.कोइरालाले कम्युनिष्टहरूबाट देशको विकास असम्भब रहेकोले कांग्रेसलाई एकजुट बनाउँदै देश निर्माणमा जुट्नुपर्ने समय आएको बताए ।

डा. कोइरालाले नेपालमा कृषि, पर्यटन र जलबिद्युत् लगायतको अथाह सम्भावना हुँदाहुँदै राष्ट्र गरिब हुनु दुखद् भएको उनले बताए ।

महामन्त्री डा.कोइरालाले कृषिको व्यावसायिक विस्तार गरेर नागरिकहरूको जनजीविकाको उत्थान गर्न जरुरी रहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा पछिल्लो समय विकास निर्माणका कामअघि बढ्न नसकेको बताए ।

नेता केसीले कांग्रेस पराजित हुँदा जिल्लाको विकासमा असर परेको उल्लेख गरे । पछिल्लो समय सोखलुखुम्बु जिल्लामा भ्रष्टाचार बढेकोमा समेत चिन्ता प्रकट गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारले जनतालाई आफ्नो क्षमताभन्दा बढी आशा देखाएकोमा असन्तुष्टि व्यक्त गर्दै ऋण काढेर रेल बनाउनु देशका लागि हितकर नभएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिस्ट सरकार बनेको दुई वर्ष बितिसक्दा पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले दाबी गरे अनुसार कुनै काम हुन नसकेको आरोप लगाए ।

नेता थापाले कम्युनिष्ट सरकारको कार्यकाल देशका लागि क्षतिपूर्ण हुने बताए ।

नेपाली कांग्रेस सोलुखुम्बुकका नेता एवम् नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले नेपाली कांग्रेसको एकतामा जोड दिए ।

नेता कार्कीले नेपाली कांग्रेस एकजुट भए कसैले हराउन नसक्ने र देशको विकासले समेत गति लिने बताए ।

कार्कीले देशको अर्थतन्त्र सन्तोषजनक अवस्थामा नरहेको भन्दै सरकारको दाबी झुटो रहेको बताए ।

उत्पादनमुलक क्षेत्रमा लगानी बढ्न नसकेको उल्लेख गर्दै उनले सरकारले देशमा लगानीमैत्री वातावरण बनाउन नसकेको धारणा राखेका छन् ।

कार्कीले जलबिद्युत्, पर्यटन जस्ता सम्भावना बोकेका क्षेत्रमा लगानी बढाएर देशले लाभ लिनसक्नुपर्ने बताए ।

सोलुखुम्बु कांग्रेसका सभापति विनोद बस्नेतले सोलुखुम्बुमा बढी रहेको भ्रष्टाचारप्रति कांग्रेसले जनतालाई सचेत गराइरहेको बताए ।

बस्नेतले नेकपाले जितेका स्थानीय तहहरूमा भ्रष्टाचार र ज्यादति बढेको समेत आरोप लगाए ।

सोलुखुम्बुका नेताहरू धनजन राई, छत्रध्वज बस्नेत, नातीकाजी गुरुङ, हुत्तराज बस्नेत, खिलाराज बस्नेत, जीवन गुरुङ, शुभराम बस्नेत र नेविसंघ सोलुखुम्बुका अध्यक्ष आस्विन थापा लगायतले धारणा राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष महेन्द्रदीप राईको सभापतित्वमा भएको थियो ।

Published : Tuesday, 2020 February 18, 2:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया