नेपालका स्थानीय जनप्रतिनिधिहरू भारत भ्रमणमा

काठमाडौं । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरूका लागि युनाइटेड नेशन्स अफिसर फर प्रोजेक्ट सर्भिस (युनोप्स)ले भारतमा परिचयात्मक भ्रमणको आयोजना गरेको छ ।

माघ २७ देखि फागुन २ गतेसम्म दुई नगरपालिकाका मेयर, उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन् ।

भारत भ्रमणका क्रममा प्रतिनिधिहरूले रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानमा रहेका शेक टेबल टेस्टिङ फ्यासिलिटी, स्टक्चरल ईन्जिनियरिङ ल्याब, फायर ल्याब, टेक्नोलोजी डेमोस्ट्रेसन ल्याब र रुलर पार्कको अवलोकन गर्नेछन् ।

दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरूले सीयूआरई नामक संस्थाको भ्रमण गर्नेछन् ।

इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजमा प्रतिनिधिहरूले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन् ।

नुवाकोट जिल्लामा २३,०८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन यूएनपीएसले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरूलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ ।

Published : Thursday, 2020 February 13, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया