कमजोर बनेपछि यसरी बदलियाे ओलीकाे रणनीति, ट्वाँ परे ठूला कम्युनिस्ट नेताहरू

काठमाडौं । भैंसेपाटीको बैठकबाट एक्लिएका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली पछिल्लो समय पार्टीभित्र कमजोर बन्दै गएका छन् ।

भैंसेपाटीमा आफूविरुद्ध गुटबन्दी भएको चाल पाएपछि नेकपाभित्र बलियो पोजिशन बनाउन खोजेका ओलीलाई भने जस्तो भएको छैन । ओलीसँग केन्द्रीय सचिवालयका सदस्यहरू नजिक हुन खोजेका छैनन् । ओली सचिवालयमा अल्पमतमा छन् ।

त्यति मात्रै होइन, ओली केन्द्रीय कमिटीमा समेत अल्पमतमा छन् । ओलीले आफूलाई नेकपाभित्र बलियो बनाउन गुटका भेला र बैठकहरू गरिरहेका छन् । ओलीले नेकपाका नेताहरूलाई एक्लाएक्लै भेटेर आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।

माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाललगायतसँग ओलीले गोप्य भेटवार्ता र छलफलहरू गरेका छन् । ती बैठकहरूबाट ओलीलाई फाइदा पुग्यो कि पुगेन केही भनिएको छैन । तर, ओली भैंसेपाटीको गुटको समीकरणलाई भत्काउने तयारीमा छन् ।

नेकपामा कार्यकारी अध्यक्ष पाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैंसेपाटी बैठकबाट आफूलाई बलियो महशुस गरेका छन् । ओलीलाई भैंसेपाटीकै बैठकबाट कमजोर बनाएको प्रचण्डको बुझाइ छ । त्यसको प्रभाव हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पनि देखिएको छ ।

स्रोतका अनुसार ओलीले आफूलाई बलियो बनाउन चार दिन अगाडि काठमाडौंको गौशालामा गुटको बैठक गराएका थिए । ईश्वर पोखरेल, विष्णु रिमाल, डा.राजन भट्टराईसहितका एक दर्जन नेताहरूको गौशालामा गुटको बैठक भएको थियो ।

बैठकमा ओलीविरुद्ध हुने षड्यन्त्रलाई काउन्टर जवाफ दिने गरी अगाडि बढ्ने सहमति भएको थियो । नेताहरूले ओलीलाई कमजोर र असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको निष्कर्ष पनि निकालेका छन् ।

गौशालाको गुटको बैठकमा ओली आफू सहभागी भएनन् । गुटको भेलाको सम्पूर्ण रिपोर्टिङ विष्णु रिमालले ओलीलाई गरेका थिए । ओली गुटको बैठकमा प्रचण्ड, वामदेव गौतम, माधवकुमार नेपाल र विष्णु पौडेलका विषयमा अलिक बढी विषयवस्तु केन्द्रित थियो ।

नेता नेपाल र प्रचण्डवीच पछिल्लो समय देखिएको गुटबन्दीले ओलीलाई तनाब बढाइदिएको छ । प्रचण्ड र नेपालको गठबन्धनमा भीम रावल र वामदेव गौतमले पनि साथ दिएका छन् ।

यद्यपि, ओली वामदेव गौतमलाई आफूतिर तान्न सफल भएका छन् । केही दिन अगाडि बालुवाटारमा बोलाएर गौतमलाई ओलीले मीठाइ खुवाएर राजनीति गरेका छन् । गौतमले पनि ओलीको आतिथ्यतालाई स्वीकार गरेर सम्बन्ध सुधारको प्रयास गरेका छन् ।

गौतमले आफूलाई प्रचण्ड वा नेपालसँग भन्दा पनि ओलीसँग निकट बनाउँदा फाइदा देखेका छन् । प्रचण्डसँग निकट हुँदा हुँदै पनि गौतमले ओलीलाई साथ दिन थालेका छन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 February 13, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया