गृहसचिवको आक्रोशले डीआईजी पोखरेल तरंगित

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले बुधबार गृह मन्त्रालयमा आयोजित नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरे लगत्तै प्रहरी अधिकारीमा पछिल्लो समय व्यक्तिवादी भावना बढेको भन्दै आफूलाई सच्याउनु जरुरी रहेको बताएका छन् ।

झण्डै दुई साता अघि गृह मन्त्रालयमा सरुवा भएका सचिव न्यौपानेले प्रहरी संगठनमा व्यक्ति केन्द्रित सोच पलाएको बताउँदै कसैलाई उछिनेर अगाडि जाने सोच त्यागेर व्यवसायिक बन्न समेत सुझाव दिए । न्यौपानेले यस्तो दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको बताउँदा उच्च प्रहरी अधिकारीहरू मुखामुख भएका थिए ।

अख्तियारको सचिव भएर काम गरिसकेका न्यौपानेले प्रहरीको चाकडी प्रथाबारे राम्रोसँग बुझेका कारण बुधबार उनले बढुवा र सरुवाका लागि आफूकहाँ नधाउन भन्दै घुमाउरो पारामा उक्त सुुझाव दिएका थिए ।

एक डीआईजीका अनुसार न्यौपानेको भनाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलप्रति लक्षित थियो । सर्वेन्द्र खनाल आईजीपी छँदा राजनीतिक दबाबमा दुई ब्याचलाई पछाडि पारेर एसएसपीबाट डीआईजी बनेका पोखरेल अहिले रिक्त तीन एआईजीमध्ये एक पदमा बढुवा हुन सोही शैली अपनाई रहेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलमार्फत गृह मन्त्रालयमा दबाब दिएर जुनियर डिआईजी पोखरेल एआईजी बन्न लविङमा जुटिसकेको गृह मन्त्रालय स्रोत बताउँछ ।

डिआईजीको उक्त शैलीप्रति जानकार गृहसचिव न्यौपानेले बुधबार राम्रै झट्का दिएको समेत गृहमा चर्चाको विषय बन्यो । २०२३ साल साउन २० गते जन्मिएका पोखरेल २०४९ वैशाख ११ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

उनीभन्दा दुई सिनियर व्याच प्रहरीमा छन् । २०४७ असार २५ र २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरेको टोली पोखरेलभन्दा सिनियर हो । हाल पोखरेलभन्दा सिनियर डिआईजी ६ जना छन् ।

ठाकुरप्रसाद ज्ञवाली आईजीपी बनेपछि तारणीप्रसाद लम्साल, सूर्यप्रसाद उपाध्याय, सैलेश थापा, हरि पाल, निरज शाही र प्रधुम्न कार्कीहरू पोखरेलभन्दा सियिनर डिआईजी हुन् ।

तर, पोखरेल अहिले नै तीन एआईजीमध्येमा बढुवा भई पाँच महिनापछि आईजीपी बन्न चलखेलमा लागेका कारण सिनियर डिआईजीहरू आतंकित बनेका छन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 February 13, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया