यी हुन् ‘मावनतस्करी’का आरोपी कम्युनिस्ट मन्त्री, नेकपाभित्र भाँडभैलो

काठमाडौं । राहदानीमा फोटो चेञ्ज (पीसी) गरी युरोपदेखि अमेरिकासम्म मानवतस्करी गरेर अकूत सम्पत्ति आर्जन गरेका अम्बिर गुरुङलाई १ नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ । अम्बिर गुरुङ र एलिज थापा मिलेर ५० को दशकमा सयौँ नेपालीलाई पीसी गरी युरोप र अमेरिका पठाएका थिए ।

कुपण्डोलको पुलसँगै गुरुङसहित पूर्वएआईजी विज्ञान शर्माका भाई दया शर्मा, विष्णु जोशी, दीपक मल्होत्राहरूले मितेरी रेष्टुरेन्ट खोलेका थिए ।

त्यतिबेला त्यो रेष्टुरेन्टमा सुनदेखि डलर र मानवतस्करीको सेटिङ हुने गरेको समाचार पनि पत्रपत्रिकाले लेखेको पुराना अभिलेख खोज्ने हो भने अहिले पनि फेलापार्न सकिन्छ ।

एलिजा थापा र गुरुङले अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीसँग सेटिङ गरी पीसी गरेर मानवतस्करी गरेको समाचार त झन् पटक–पटक प्रकाशित हुने गरेका थिए ।

सुनदेखि पीसीबाट मानवतस्करी गरी रातारात धनी भएका गुरुङले २०७४ को निर्वाचनमा एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेललाई करोडौँ चुनाव खर्च दिएर ओखलढुंगाबाट प्रदेश सभा सांसदको टिकट लिएका थिए ।

राजनीतिमा गुरुङ जस्ता बद्नाम पात्रको प्रवेश गराएका पोखरेलकै जोडबलमा अहिले उनलाई राज्यमन्त्री बनाइएको चर्चा नेकपा बृत्तमा हुने गरेको छ ।

ओखलढुंगाको रुम्जाटारका गुरुङ मानवतस्करीदेखि अबैध सुन कारोबारबाट नवधनाढ्य भएका व्यक्ति हुन् । टोले गुण्डाको सम्पत्ति छानबिन गर्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अम्बिर गुरुङ जस्ताको कालोधनको बारेमा चासो नै राख्ने गरेको छैन ।

धेरैको रकम विदेश पठाइदिने भनेर पचाएर उनी नवधनाढ्य भएका हुन् । नेकपाका पुराना नेताका छोराको करोड रुपियाँभन्दा बढी यिनले वर्षौंदेखि तिरेका छैनन् ।

कयौँ सर्वसाधारणको घरजग्गा थाहा नै नपाई बैंकमा राखेर पैसा लिने र लिलाम गराइदिएका कारण धेरैको उठीबास गराइदिएका छन् । कतिको बैंकमा धितो राख्ने भनेर मालपोतका कर्मचारीसँग मिलेर दृष्टीबन्धक राख्न लैजाँदा पास नै गरेर हत्याएको आरोप उनीमाथि छ ।

नेकपाका पूर्वमहासचिव, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म पहुँच भएका गुरुङ घरमै प्रहरी आईजीपीलाई बोलाएर खानपान गर्ने हैसियत राख्छन् । उनले तस्करीदेखि सर्वसाधारण जनताको घरजग्गा हडपेर चावहिलबाट जाँदा ओमअस्पतालदेखि पारीपट्टि रिजेन्सी टावरदेखि थुप्रै ठाउँमा घरजग्गा खरिद गरेका छन् । राजनीतिलाई भ्रष्टीकरण गर्ने कार्य दलहरूले गुरुङ प्रवृत्तिलाई बढावा दिएर गरेका छन् ।

कांग्रेसको गढ ०७० मै भत्काएर ओखलढुंगाबाट २ पटक जितेका संघीय सांसद यज्ञराज सुनुवारलाई नेकपाले मन्त्री बनाएको छैन ।

तर, कालोधनको बलमा पार्टी नेतासँग निकट भएर टिकट लिनेलाई मन्त्रीमा बिराजमान गराएर सुनुवार जस्ता मूल्य र मान्यतामा आधारित राजनीति गर्नेहरूको तेजोबध गर्ने काम नेकपाले गरेको गुनासो कार्यकर्ताहरूको रहेको छ ।

माधव नेपालनिकट भनेर सुनुवार जस्ता नेतालाई पाखा पार्नका लागि गुरुङ प्रवृत्तिलाई राज्यमन्त्री नियुक्त गरिएको छ ।

अब ओखलढुंगामा पैसाको बलमा अम्बिर गुरुङ जस्ता पात्रलाई स्थापित गरी सुनुवारलाई विस्थापन गर्ने रणनीति ईश्वर पोखरेलले अंगालेर राज्यमन्त्री बनाइएको नेकपा ओखलढुंगाका एक नेताले बताउँछन् ।

राजनीतिलाई अपराधीकरणतर्फ लाने काम यस्तै प्रवृत्तिलाई पुरस्कृत गर्दा हुन्छ भन्ने कुरा नेकपा नेतृत्वले बुझ्न नसकेको नेताहरू स्वीकार्छन् ।

त्यसो त भीम आचार्यलाई मुख्यमन्त्रीमा हराउन र शेरधन राईलाई जिताउन सांसद खरिदबिक्रीका लागि रकमको जोहो गरेबापत पनि उनलाई राज्यमन्त्रीमा पुरस्कृत गरिएको एकथरीको भनाइ छ ।

राईलाई मुख्यमन्त्रीमा जिताउनका लागि उनले माधव नेपाल पक्षका ३ भन्दा बढी सांसद खरिदका लागि लगानी गरेका थिए ।

१ नम्बर प्रदेशमा माधव नेपाल पक्षको स्पष्ट बहुमत हुँदाहुँदै पनि सांसद खरिदबिक्री भएकाले आचार्य मुख्यमन्त्रीमा पराजित भएका थिए । गुरुङकै पहलमा ३ सांसदका लागि ३५ लाखका कदरले बजेट बिनियोजन गरिएको रहस्य नै उजागर भएको थियो । (साँघु साप्ताहिकबाट साभार)

Published : Monday, 2020 January 27, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया