छोरीलाई दाइजो होइन, शिक्षा दिऔँः राजकिशोर यादव

सिरहा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता राजकिशोर यादवले सामाजिक रुपान्तरणको जिम्मेवारी सबैमा बोध हुनुपर्ने बताएका छन् ।

सिरहाको मिर्चैयास्थित मोहन उमाविमा आइतबार आयोजित झोला तथा सेनेटरी प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले सामाजिक रुपान्तरणको कुरा उठाएका हुन् ।

उनले समाजमा छोरीमाथिको फरक नजरिया अझ कायमै रहेको भन्दै यसलाई बदल्न समाज नसच्चिएर नहुने धारणा राखेका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता यादवले समाज र घरघरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो नभई शिक्षा दिइनुपर्ने बताए ।

‘छोरीलाई दाइजो दिनैपर्ने मानसिकता बदलौं, यो घोर अपराध हो, छोरीलाई शिक्षा दिऔं’, उनले भने, ‘तबमात्र समाजिक रुपान्तरण सम्भव छ, यो जिम्मेवारी सबैमा बोध हुनुपर्छ ।’

मुलुर र समाजको समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताउँदै उनले समाजमा परिवर्तनको लागि महिला सशक्तिकरण आवश्यक रहेको बताए ।

‘मानिसको व्यक्तित्व विकासका लागि महत्वपूर्ण पक्ष भनेको शिक्षा हो, जसले हाम्रो भविष्य तथा लक्ष्यलाई कोर्न सक्छ’, राजपाका नेता यादवले भने, ‘शिक्षाले महिलालाई एउटा ठूलो मान्छे बनाएर विश्वभरमा चिनाउने र सबैबाट सम्मान दिलाउन सक्छ, साथमा आत्म निर्भर बनाउने र आफ्नो जीवनस्तरलाई सहज अनि सुविस्ता बनाउन सहयोग गर्छ, त्यसैले अब यसतर्फ अगाडि बढौं ।’

नेता यादवले जगत जननी माता सीता, लक्षमी र सरस्वतीको प्रसंग जोड्दै यहाँको संस्कार र संस्कृति आफैंमा ऐतिहासिक रहेको भन्दै यसको रक्षाको लागि सबैले जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।

उनले प्रदेश २ सरकारले नारी हितको लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेकोप्रति प्रदेश सरकारलाई धन्यवादसमेत दिएका छन् ।

मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले समाज बदल्नको लागि सरकार लागिपरेको बताउँदै यसमा स्थानीय तहबाट आफूहरु थप मलजल गरेर अघि बढिरहेको बताए । उनले नगरमा शिक्षाको स्तर उकास्न अहोरात्र प्रयासमा रहेको जनाए ।

प्रदेश २ सरकारको महात्वाकांक्षी योजनामध्ये एक ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत मोहन उमाविमा आइतबार झोला एवं सेनेटरी प्याड वितरण गरिएको छ ।

सो विद्यालयमा कक्षा ७ मा अध्ययनरत एकसय ८ जना छात्राहरुलाई झोला तथा सिरहाका विभिन्न पाँच विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सांसद राजकिशोर यादव, मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण यादव, प्रदेश सांसद दिलीप साह, शिक्षा निर्देशनालय प्रदेश २ का प्रमुख लगायतको सहभागिता थियो ।

Published : Sunday, 2020 January 26, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया