१४औं महाधिवेशनपछि कांग्रेसमा भागबण्डा र गुटको अन्त्य हुन्छः डा.काेइराला

काठमाडौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले इतिहासकै कठिन मोडमा पुगेको पार्टीभित्र पछिल्लो समय भागवण्डा र लेनदलको संस्कारले बढवा पाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

लम्जुङ जिल्लाको बेसीशहरमा आयोजित कार्यक्रममा कांग्रेस डा.कोइरालाले पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र गैरसंस्थापन पक्षका नेताहरूबीच भागवण्डाको आधारमा भएको सहमतिप्रति असन्तुष्टि जनाए ।

उनले पछिल्ला दिनमा कांग्रेस पार्टीभित्र निष्ठावान र ईमान्दार व्यक्तिहरूलाई किनारा लगाउँदै जान थालिएको भन्दै मूल्यांकनको परिपाटी हराउन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

डा.कोइरालाले निष्ठा र बैचारिक राजनीति कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको पनि बताएका छन् ।

आफू पार्टीभित्र बैचारिक उर्जा भर्ने अभियानमा लागेको बताउँदै पार्टी यतिबेला इतिहाँसकै कठिन मोडमा पुगेको उनले बताए ।

बेसीशहर नगरसमिति वार्ड नम्बर १ ले लमजुङको उदिपुरमा आयोजना गरेको कार्यकर्ता भेला तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डाको अझ बढेको बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनपछि भागबण्डा र गुटको अन्त्य हुने दाबी डा.कोइरालाले गरेका छन् । गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागि आफूले कुनै कसर बाँकी नराख्ने डा.कोइरालाले बताएका छन् ।

कार्यक्रममा लमजुङ कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, तनहुँ कांग्रेसका पूर्व सभापति ध्रुब वाग्लेले कांग्रेसको वर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिती र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्न नसकेको आरोप लगाएका छन् ।

Published : Sunday, 2020 January 26, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया