अचानक प्रचण्डको निवास घेराउ, सुरक्षाकर्मीले चालै पाएन (तस्वीर)

ललितपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासलाई पूर्वलडाकुहरूले घेराउ गरेका छन् ।

ललितपुरको खुमलटारमा रहेको प्रचण्डको निवासलाई पूर्व लडाकुहरूले शुक्रबार बिहान छ बजे नै घेराउ गरेका हुन् ।

झण्ड एक सयको संख्यामा रहेका पूर्व लडाकुहरूले विभिन्न माग राखेर निवास घेराउ गर्नुका साथै प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

बालबच्चा र परिवारसहित घेराउ गर्न आएका पूर्व लडाकुहरूले माग पूरा गर्न प्रचण्डलाई आग्रह गरेका थिए । पूर्व लडाकुहरूलाई प्रचण्डको निवासभित्र छिर्न सुरक्षाकर्मीहरूले दिएका थिएनन् ।

प्रचण्डको निवासको मूलढोकामा एक घण्टासम्म पूर्व लडाकुहरूले घेराउ गरेर बसेका थिए ।

पूर्व लडाकुले प्रचण्डको घर घेराउ गरेको सूचना पाएपछि ललितपुर प्रहरीका एसएसपीकै कमाण्डमा प्रहरी सुरक्षा दिन पुगेको थियो ।

सुरक्षाकर्मीले भित्र जानकारी गराएपछि प्रचण्डले उनीहरूमध्येका दुई जनालाई मात्रभित्र पठाउन अनुमति दिएका थिए ।

उनीहरूलाई लडाकु समायोजनका बेलामा बर्हिगमन गरिएको थियो । बर्हिगमित लडाकु आफ्नो माग राखी प्रचण्डलाई भेट्न कोशिश गरिरहेका थिए ।

पूर्व लडाकुहरूले प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई समेत भेट मिलाइदिन अनुरोध गरेका थिए । गंगाले समय नदिएपपछि पूर्व लडाकुहरू प्रचण्डको घर घेराउ गर्न पुगेका थिए ।

मागको सुनुवाई नभएपछि उनीहरू सिधै प्रचण्ड निवासको मूलढोकामा धर्ना दिन पुगेका हुन् ।

बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका सचिव भीमबहादुर तामाङले पटक–पटक ज्ञापनपत्र बुझाउन समय मिलाउन भन्दा गंगा दाहालले सुनुवाई नरेपछि सिधै प्रचण्डको निवास घेराउ गरिएको बताए ।

मूलढोका नछाड्ने अडानपछि प्रचण्डले शनिबार पेरिसडाँडामा बसौं भन्ने खबर पठाएका थिए । बर्हिगमित लडाकुले मानेनन् ।

उनीहरू मूलढोका नछाड्ने अडानमै बसे । त्यसपछि प्रचण्डले बल्ल भेटको अनुमति दिए ।

संघर्ष समितिका इञ्चार्ज असिम लिम्बु ‘सुनिल’ र उपाध्यक्ष राजन थापा मात्रै प्रचण्डलाई भेट्न ढोकाभित्र छिरेका थिए ।

थापाले सात बुँदे ज्ञापनपत्र पढेर सुनाएका थिए । प्रचण्डले आफू मागप्रति गम्भीर भएको बताएको भेटमा सहभागी थापाले बताएका छन् ।

यो विषय शान्तिप्रक्रियासँग जोडिएको विषय भएकाले टुंग्याउन आफू गम्भीर भएको जानकारी गराएका छन् ।

Published : Friday, 2020 January 24, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया