ओखलढुंगा कांग्रेसका नेता र मुख्यमन्त्रीवीच भेट, बाटो बनाउन माग

विराटनगर । प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईसँग नेपाली कांग्रेसका नेताहरूले प्रदेशको नाम र सडकका विषयमा माग उठाएका छन् ।

प्रदेश १ को राजधानी विराटनरमा बिहीबार नेपाली कांग्रेस ओखलढुंगाका नेताहरूले मुख्यमन्त्री राईलाई भेटेर ओखलढुंगा जिल्लाबाट प्रदेशको राजधानीमा आउने बाटो निर्माण गर्न माग गरेका हुन् ।

मुख्यमन्त्री राईलाई भेट्न ओखलढुंगाबाट डेलिगेशन नै विराटनगर आएको थियो ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रदेशको राजधानी विराटनगर आउन अर्को प्रदेश भएर आउनुपर्ने बाध्यता रहेको भन्दै सडक छिटोभन्दा छिटो बनाउन माग गरिएको जानकारी दिए ।

‘ओखलढुंगा, सोलुखुम्ब, खोटाङका जनतालाई आफ्नै प्रदेशको राजधानी आउन प्रदेश २ को बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ’, खतिवडाले भने, ‘हामीलाई आफ्नै प्रदेश हुँदै राजधानी आउने बाटो छिटोभन्दा छिटो बनाउन आग्रह गरेका छौँ ।’

ओखलढुंगाका नेताहरूको मागप्रति आफू सकारात्मक रहेको र छिटोभन्दा छिटो सडक बनाउन पहल गर्ने मुख्यमन्त्री राईले आश्वासन दिएको खतिवडाले जानकारी दिए । नेपाली कांग्रेसका नेता खतिवडाले ओखलढुंगा, सोलुखुम्बर र खोटाङका जनताको समस्या बुझ्न मुख्यमन्त्री राईलाई आग्रह गरेका थिए ।

नेताहरूले प्रदेश १ को नामाकरण गर्न पनि मुख्यमन्त्री राईसँग माग गरेका थिए । प्रदेश १ को राजधानी विराटनगर तोकिए पनि नामाकरण हुन सकेको छैन ।

भेटघाटका क्रममा मुख्यमन्त्री राई र नेपाली कांग्रेसका युवा नेता खतिवडाको विवाहको चर्चा पनि चलेको थियो । भेटमा सहभागीहरूले मुख्यमन्त्री राई र नेपाली कांग्रेसका युवा नेता खतिवडाको विवाह प्रशंग उठाएपहि केही क्षण हाँसो भएको थियो ।

खतिवडाले जवाफमा ‘मभन्दा पहिला शेरधन राईजी मन्त्री र मुख्यमन्त्री बन्नुभयो । पहिला उहाँके विवाह हुन्छ’ भनेको एक जना नेताले बताए ।

संयोग नै मान्नुपर्छ प्रदेश १ का मुख्यमन्त्री राई र नेपाली कांग्रेसका युवा नेता खतिवडा अविवाहित छन् ।

 

Published : Thursday, 2020 January 23, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया