जेठी हुँदाहुँदै १६ वर्षीया कान्छी भित्र्याउन खाेज्ने गणेश पक्राउ

बारा । बारा जिल्लामा प्रहरीले १६ वर्षीया किशोरीलाई विवाह गर्न खोज्ने ३० वर्षीय गणेश साह कलवारलाई पक्राउ गरेको छ ।

घरमा पत्नी हुँदा हुँदै साहले १६ वर्षीया किशोरी कमला यादव (नाम परिवर्तन)सँग विवाह गर्दै गरेको अवस्थामा बुधबार अपरान्ह ४ बजे प्रहरीले साह र किशोरीका बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १ गढीमाई मन्दिरको प्राङ्गणमा बाल विवाह भइरहेको भन्ने सूचनाको आधारमा खटिएका प्रहरी टोलीले साहसहितका व्यक्तिलाई पक्राउ गरी किशोरीलाई उद्धार गरेको थियो ।

मन्दिर परिसरमा पुगी हेर्दा वडा नम्बर ८ धर्मपुर टोल बस्ने गणेश साह कलवारले आफ्नो घरमा जेठी श्रीमती हुँदाहुँदै १६ वर्षीया किशोरीसँग विवाह गर्न खोजेका थिए ।

गणेश साह कलवारकी जेठी पत्नीले प्रहरीमा उजुरी दिएपछि प्रहरीको टोलीले तत्काल किशोरीको उद्धार गरेर दोषीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूलाई ५ दिनमा थुनामा राखेर अनुसन्धान गर्न बारा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

यसैबीच, बिष्फोटक पदार्थ मुद्धामा फरार रहेका देवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतबाट सात सय रुपियाँ जरिवना ठहर भई फरार रहेका सुवर्ण गाउँपालिका वडा नं. ५ का यादवलाई ईलाक प्रहरी कार्यालय कवही गोठ बाराले पक्राउ गरेको थियो ।

Published : Thursday, 2020 January 23, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया