‘धुन्दुकारी’ महरा र चौधरीलाई बिहीबार भयाे एउटै कुरामा पीडा

काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीलाई यौनदुर्व्यवहार गरेको आरोपमा डिल्लीबजार कारागारभित्र रहेका पूर्वसभामुख एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महरा राष्ट्रिय सभा निर्वाचनको मतदानमा सहभागी हुन पाएनन् ।

डिल्लीबजार कारागारभित्र रहेकाले महराले मतदान गर्न नपाएका हुन् । उनीसँगै टीकापुर काण्डमा परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशमलाल चौधरीले पनि मतदान गर्न पाएनन् ।

बिहीबार सात प्रदेशमा राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका १८ जना उम्मेदवारहरूलाई मतदान भएको छ । मतदान गर्न नपाएपछि महरा र चाैधरीलाई पीडा भएकाे छ ।

प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्म पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ ।

तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ ।

प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

आयोगका अनुसार, कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

आयोगका अनुसार, निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।

Published : Thursday, 2020 January 23, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया