राष्ट्र बैंकलाई झुक्याउँदै हिमालयन बैंकका अध्यक्ष

काठमाडौं । हिमालयन बैंकमा संस्थापक शेयरधनीबीच विवाद चर्किरहेकै बेला बैंकले माघ २९ गते वार्षिक साधारणसभा गर्न लागेको छ ।

बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपनि सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बोर्डको बैठक नै नबोलाई मनोमानी गरेका छन् ।

साधारणसभा गर्न स्वीकृत दिनुअघि राष्ट्र बैंकले हिमालयन बैंकसँग राखेका सर्तलाई पूरा गर्न अध्यक्ष श्रेष्ठले इन्कार गरेपछि श्रेष्ठले राष्ट्र बैंकलाई समेत झुक्याएको बैंककै एक उच्च अधिकारी दाबी गर्छन् ।

साधारणसभा गर्न स्वीकृत दिनुअघि राष्ट्र बैंकले सञ्चालक समितिको निर्वाचन गर्ने, सर्वसाधारण सेयरको हिस्सा ३० प्रतिशत पुर्‍याउने र लघुवित्त संस्थाहरूमा भएको सेयर लगानी १० प्रतिशतमा झार्नुपर्ने सर्त राखेको थियो । त्यसमा सहमति जनाएपछि हिमालयन बैंकले साधारणसभाको अनुमति पाएको थियो ।

तर, एकाएक श्रेष्ठले अहिले ति बुँदाहरुलाई एजेण्डामा नराखेपछि उनको गलत नियत बाहिर आएको हो । उनलाई राष्ट्र बैंकले के गर्छ त्यो भने हेर्न बाँकी छ । साधारणसभाले १० अर्बको अधिकृत पुँजी १२ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्ने बताइएको छ ।

साधारणसभाको मुखमा अध्यक्ष श्रेष्ठले हिमालयन बैंकमा गरेको ‘कर्पोरेट भ्रष्टाचार’को फेहरिस्त समेत बाहिर आइसकेको छ । ठमेलमा रहेको मुख्य कार्यालय कमलादीमा सार्दा फर्निचरलगायतका सामान खरिद गर्दा ठूलो भ्रष्टाचार गरिएको पनि खुलेको छ ।

बैंकको सञ्चालक समिति बैठकबाट कर्पोरेट गभर्नेन्स निर्देशिकालाई उल्लंघन गरी अध्यक्ष श्रेष्ठमाथि खरिद प्रक्रिया अपारदर्शी बनाएको, नातावादलाई प्रवद्र्धन गरेको र जातीयतालाई हावी बनाएको आरोप लाग्दै आएको छ ।

जग्गा, भवन निर्माण, सफ्टवेयर र नयाँ गाडी खरिदमा करोडौं घोटला भएको छ । जुन कुरा प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई जानकारी भएपनि उनी अध्यक्ष श्रेष्ठसामु निरिह भएका छन् ।

राणा र केही उच्च कर्मचारीहरुले साधारणसभाको दिन श्रेष्ठको समूहले गरेको कर्पोरेट भ्रष्टाचारको बिषयमा आवाज उठाउने तयारी गरेको पनि बुझिएको छ ।

अध्यक्ष श्रेष्ठले आफू निकटकालाई विना धितो चाहिएको जति ऋण पनि उपलब्ध गराउँदै आएको बिषयमा समेत साधारणसमाभा कुरा उठ्ने भएको छ । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 23, 9:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया