प्रचण्ड-नेपाल मिलेर तुहाइदिए ओलीकाे याेजना, अलपत्र परे विश्वासपात्र

काठमाडौं । गृहमन्त्रालयका सचिव प्रेमकुमार राई यही माघ २२ गते अवकाश हुँदैछन् । उनलाई अवकाश हुनुअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाउने र आगामी भदौ २८ पछि प्रमुख आयुक्त बनाउने चर्चा खुब भयो ।

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरे आगामी भदौ २८ मा उमेरहदले अवकाश भएपछि राईलाई प्रमुख आयुक्त बनाउने गरी अहिले आयुक्त बनाउने संभावना पनि छ । मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेर राईलाई मुख्यसचिव बनाउने हल्लाको बजार पनि केही समयसम्म तताइयो ।

तर, छोटो समयमा ५८ बर्ष उमेर पूरा गर्ने भएकाले उनलाई मुख्य सचिव बनाउने कुराले पनि साकार रुप लिन सकेन । केपी शर्मा ओली प्रधानमन्त्री हुनासाथ २०७४ चैतमा गृहमन्त्रालयमा सरुवा भएका राईलाई अहिलेसम्म पनि सरुवा नगरी राखिएको छ । गृहमन्त्रालयको बागडोर मन्त्री रामबहादुर थापा ‘बादल’ले लिए पनि सबै निर्णयमा राई नै हावी हुँदै आएको बुझाई आमनागरिकको छ । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रका रुपमा उनले गृहमा २ बर्षसम्म काम गर्दै आएका छन् ।

अब उनी अवकाशपछि मात्र नियुक्ति हुनेछन् । राईको अवकाश अघि संवैधानिक परिषद्को बैठक नबस्ने भएकाले पनि उनको नियुक्ति तत्काललाई टरेको छ । प्रधानमन्त्री केपी ओलीका अति नै निकट भएकाले राईलाई अख्तियारको आयुक्त बनाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति दिने संभावना कम छ । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल पनि ललिता निवासको जग्गा प्रकरणमा प्रधानमन्त्री ओलीले राईलाई प्रयोग गर्न सक्ने त्रासमा छन् । अध्यक्ष प्रचण्ड शिविर भ्रष्टाचारको उजुरीका कारण त्रसित छँदैछन् । त्यसकारण ओलीका निकट हार्डकोर प्रशासक राईलाई भन्दा अर्कै पात्रलाई अख्तियारमा लाने र आगामी प्रमुख आयुक्तको दाबेदार बनाउने संभावना पनि उत्तिकै छ ।

नवीन घिमिरेको अवकाशपछि प्रमुख आयुक्तका दाबेदारी बरिष्ठताका आधारमा आयुक्त गणेशराज जोशीकै हुनेछ । उनको २०७७ साउनमा मात्र ६ बर्ष पुग्ने भएकाले प्रमुख आयुक्त भएमा ७ महिना करिब कार्यभार सम्हाल्नेछन् ।

निर्वाचन आयोगमा आयुक्त इश्वरी पौडेल र नरेन्द्र दाहाल बरिष्ट हुँदाहुँदै उनीहरुभन्दा धेरै कनिष्ट दिनेश थपलियालाई ओलीले प्रमुख आयुक्त बनाएकाले डा. जोशीलाई प्रमुख आयुक्त बनाउने संभावना कमै रहेको बताइन्छ । यसअघि दीप बस्नेत जस्ता बदनाम र पैसामात्र कमाउने काममा लिप्तलाई समेत बरिष्ठताका आधारमा प्रमुख आयुक्त बनाइएकाले डा. जोशीको संभावनालाई नकार्न सकिन्न । डा.जोशी निजामती प्रशासनमा स्वच्छ छवि बनाएर अवकाश भएका सचिव हुन् ।

अख्तियारमा दुई आयुक्त पद रिक्त छ । दीप बस्नेतको कार्यकाल सकिएको र राजनारायण पाठक घुस लिएको प्रकरणमा बाहिरिएपछि दुई आयुक्त पदरिक्त छ । बस्नेत अवकाश भएको २ बर्ष पुग्न लागिसकेको छ भने पाठकको पनि एक बर्ष बढी भइसकेको छ । तर, नियुक्ति हुन सकेको छैन । संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पूर्व सहसचिव गणेश कार्की र जयबहादुर चन्दको नाम प्रस्ताव गरिरहेका छन् ।

करोडौं लाभ लिएर यूएन पार्कको जग्गा अतिक्रमणमा मुछिएका कार्की र आइजीपी नियुक्ति प्रकरणमा विवादित चन्दलाई आयुक्त बनाउने पक्षमा ओली छैनन् । अख्तियारको आयुक्तका लागि नेपाल प्रहरीका बदनाम पूर्व डीआइजीदेखि एआइजी र आइजीपीसम्म लागेका छन् । पूर्वसचिवदेखि सहसचिवहरुसम्म पनि आयुक्तको दौडमा छन् । (यूनाइटेड पाेस्टे साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 23, 8:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया